(व्यङ्ग्य)             भुसको आगो

00-Husband-Wife

‘लोग्ने स्वास्नीको झगडा परालको आगो’ भनेर गुरू प्रसाद मैनालीले भनेरै गएका छन्, धेरै दिन अघि नै। तर स्याक्तरे‌ त्यो कुरो मान्दैनन्। कसरी पो मानुन्  बिचाराले!!  जुरेली बाझेका बेला र उनलाई  फलाकेका बेला कहिलेकाहिँ  खप्न नसकेर  एउटा शब्द फर्काएछन्  भने आम्मामा!!!  महिनादिनसम्म असर पर्छ  र प्रतिक्रिया झेल्नु पर्छ उनले।  जसको महिना दिन सम्म भुङ्ग्रो रहन्छ। त्यो कसरी परालको आगो भयो? भुसको आगो भन्दा हुन्छ बरु!!

अवश्य  साइँलाले केही जबाफ नफर्काएर चुप्प लागेर सम्पूर्ण एकपक्षीय युद्ध भए परालकै आगो जस्तै पनि हुन्छ। बिहेपछिको आलो ‌आलो समयमा साइँला पनि पछि सर्दैनथ्ये  युद्धको मैदानमा। ‌तर एक दुई बल्ड्याङमै काब्बु भए बिचारा। अचेल चुपचाप लागेर एकपक्षीय युद्धको समाप्तिको अपेक्षा गर्ने सिवाय उपाय छैन। गरुन पो के बिचाराले! जुरेलीको दोष देखाए नत्र प्रतिवादमा एक  शब्द बोले भने उनका सात पुस्ताले गाली खान्छन्।  उता भान्सामा  खानुपर्छ फर्सी कि त पिँडालुको झोल, जुरेलीको रिस नमेटिउञ्जेल‌सम्म। तै आघो निब्छकि भनेर जे दिए पनि सप्र्याङ् सप्र्याङ् खान्छन् बिचारा। कसैसँग केही बोल्यो कि “केही बोल्न नजान्ने, तपाईँ चुप लाग्नु “भनेर उनै ताम्सिन्छिन् बोल्न। हुन त हो परिपाठ लाएर बोल्न लोग्ने मान्छेले जान्दैनन् पनि।

चामे र गौँथलीलाई खोजेर धेरै ठाउँ चारी सके साइँलाले। तर के भेट्दथ्ये र! गौँथलीले माइतबाट ल्याएको गाई कसैलाई दुहुन दिएपो! अनि चामेलाई केको लात्ती हान्दैनथ्यो र! उता भान्सा घरको राखन् धरन् उस्तै थियो गौँथलीको, चामे बिचाराले कसरी पो भेटोस् पकाउने सामान!!

अहिलेको कुरो सोचेर एक्लै एक्लै मुसुक्क हाँसे साइँला।

न गाईले लात्ती हानोस् न भान्सा घरमा अफ्ट्यारो परोस्!!

दुधको प्याकेटले लात्ती हान्दैन,भान्सा घरमा जुरेलीको भन्दा साइँलाकै  बरु धेर प्रेक्टिस् छ! जुरेली रिसाएर माइत जाओस् न सजिलै फकिएर परालको आगो होस् अचेल!! 

एक दिनको कुरो सम्झिन्छन् साइँला।

साइँलाको घर फर्कन ढिलो भएको थियो। रातिसम्म  केही नखाई भोकै पर्खि रहेकी रछिन् जुरेली। आफूलाई दोषी दोषी लाग्छ उनलाई।

भोकै पर्खिएको देखेर साइँला भन्छन्- ‘किन भोकै बसेकी यतिबेरसम्म? यसरी भोकै  नपर्खिनु, खानु। म रिसाउँदिन।’

‘कसैले पकाई दिएपो खानु!अनि भोकै नपर्खिएर के गर्नु त?’

‘ए!कुरो त्यसो पो रहेछ??’

जुरेलीका अनुहारमा गौँथलीको अनुहार टाँसेर हेरे साइँलाले।

खित्का छोडी छोडी हाँस्न थाले साँइला एक्लै एक्लै।

लामो सास फेरे र तिहुन केलाउन थाले उ।

राइस कुकरमा दुई टोक्री चामल बसाएर  थाल बटुका धुन थाले साइँला।

न हाँसुन् पो किन बिचारा स्याक्तरे साइँला अचेल परालको आगो पढैर!!

हो पनि! अचेलका गौँथली घुर्क्याएर माइत जाँदैनन्। घरै बसेर चामेहरूलाई औँलाका इसारामा नचाउँछन्।आफू नाचेको थाहानै पाउँदैनन् चामेहरू।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement