कालचिनी। आगामी १३ जुलाई आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्म जयन्ती डुवर्सको विभिन्न ठाउँहरुमा विभिन्न संघ संस्थाहरु द्वारा पालन हुने जमर्को चलिरहेकोबीच यसपाली कालचिनी खण्डको भारत भोटाङ सीमान्त जयगाउँको खोक्ला बस्ती स्थित गोर्खा भवनमा जेडीए क्षेत्र स्तरीय भानु जयन्ती पालन गरिने निधो भएको छ।
आज उक्त कार्यक्रमको निम्ति जयगाउँ स्थित एउटा बेसरकारी होटलमा जयगाउँ र दलसिंहपाड़ा अञ्चलका सचेत मानिसहरुलाई लिएर एउटा सभा सम्पन्न भएको थियो। उक्त सभामा अन्ततः जयगाउँ, दलसिंहपाड़ा र हाँसीमारा स्तरीय २०८औँ भानु जयन्ती समारोह सम्पन्न गर्ने कुरामा सबैको सहमति बनेको बताईएको छ।
भानु जयन्ती समारोहको निम्ति एउटा कमिटीको गठन पनि गरिएको छ भने सो कमिटीमा सल्लाहकारगणमा जेडीए चेयरम्यान गङ्गा प्रसाद शर्मा, समाजसेवी बीबी खवास, समाजसेवी विष्णु लामा, समाजसेवी गणेशबहादुर प्रधान आदिलाई राखिएको छ भने सभापतिमा जयगाउँका समाजसेवी महेन्द्र छेत्री, सचिवमा पेमा लामा, कोषाध्याक्षमा फुर्बा लामा एवम् जयगाउँ एक र दुई लगायत दलसिंहपाड़ा र मलङ्गी अञ्चलका प्रतिनिधिहरुलाई समेटेर कार्यकारिणी सदस्यहरुको चयन गरिएको आयोजक कमिटीको सभापति महेन्द्र छेत्रीले जनाएका छन।
भानु जयन्ती समारोहको निम्ति अझै आयोजक कमिटीको विस्तार गर्न आगामी मङ्गलाबार अझै एउटा सभा बस्ने कमिटी सुत्रले जनाएका छन।
आज सम्पन्न सभामा जेडीए चेयरम्यान गङ्गा प्रसाद शर्मा लगायत जयगाउँका समाजसेवी विष्णु लामा, गणेश बहादुर प्रधान, बीबी खवास, पासाङ डिक्की शेर्पा, सुरज रोका, वाङ्गेल लामा, मदन लामा, राजेश बराईली, फुर्बा लामा, दलसिंहपाड़ाका समाजसेवी प्रभात थापा, प्रताप राणा, उत्तम थापा, जयबहादुर राई, आदि जयगाउँ, दलसिंहपाड़ा क्षेत्रका समाजसेवीहरुको मुख्य उपस्थिति रहेको थियो।