१९ जूनः भारतका स्टार ज्याभलिन थ्रो एथलीट नीरज चोपड़ाले टोक्यो ओलम्पिकपछि आफ्नो पहिलो स्वर्ण पदक जिते। फिनल्याण्डको कुओर्ताने गेम्समा ज्याभलिन थ्रोअर नीरजले प्रतिकूल परिस्थितिमा पदक जिते। वर्षाले गर्दा फील्ड भिजेको थियो। यसैकारण नीरज एकपल्ट चिप्लिए पनि। यति सब भएर पनि उनले ८६.६९ मीटरको थ्रो सहित स्वर्ण पदक आफ्नो नाम गरे। फील्डमा निक्कै पानी रहेको हुनाले नीरज आफ्नो तेस्रो प्रयासमा चिप्लिए। थ्रो गरेपछि खुट्टा चिप्लिँदा उनी लाइन बाहिर गए। यसैकारण त्यस थ्रो-को गन्ती भएन। खुट्टा चिप्लिए पनि उनलाई कुनै चोट चाहिँ लागेन। आउँदो महिना राष्ट्रमण्डल खेलहरूका आयोजन हुनेछ अनि नीरजलाई त्यसमा पदकको प्रबल दावेदार मानिएको छ।
नीरजले पहिलो प्रयासमा ८६.६९ मीटरको थ्रो गरेका थिए। उनको दोस्रो थ्रो फाउल रह्यो। उनले यस इभेण्टमा पनि यसभन्दा अधिक दूरीको थ्रो गर्न सकेनन्। यसअघि उनले यसै महिना पावो नूरमी गेम्समा ८९.३० मीटरको थ्रो गरेर आफ्नै राष्ट्रिय रेकर्ड तोड़ेका थिए। प्रशंसकहरूलाई उनले यसपाली फेरि आफ्नो रेकर्ड तोड़्ने आशा रहेको थियो तर त्यस्तो हुन सकेन। रेकर्ड ८९.३० मीटरको थ्रो गरेर पनि पावो नूरमी गेम्समा नीरजले रजत पदकमा चित्त बुझाउनु परेको थियो। कुओर्ताने गेम्समा नीरजले २०१२ लण्डन ओलम्पिकमा स्वर्ण पदक विजेता त्रिनिदाद एण्ड टोबेगोका केशोर्न वालकटलाई पछि छोड़ेर स्वर्ण पदक जिते। वालकटले ८६.६४ मीटरको सर्वश्रेष्ठ थ्रो गरे। उनले रियो ओलम्पिकमा पनि काँस्य पदक जितेका थिए। वर्तमान विश्व च्याम्पियन एण्डरसन पीटर्सले ८४.७५ मीटरको थ्रो सहित काँस्य पदक जिते। स्पर्धामा भारतकै सन्दीप चौधरीले ६०.३५ मीटरको थ्रो मात्र गर्न सके। यस स्वर्णिम जीतले ३० जूनदेखि स्टकहोममा हुने डायमण्ड लीगअघि नीरजको आत्मविश्वास अवश्यै बढ़्नेछ।