सिड्नी: अष्ट्रेलियाका ऊर्जा मन्त्रीले न्यू साउथ वेल्सका घरपरिवारहरूलाई उनीहरूले प्रयोग गर्दै आएको बत्ती बन्द गर्न आग्रह गरेका छन्। देशमा उर्जा संकट बढिरहेका बेला जलवायु परिवर्तन तथा उर्जामन्त्री क्रिस बोवेनले मानिसहरूसँग ‘विकल्प’ भए हरेक साँझ दुई घण्टा बिजुली प्रयोग नगर्न अनुरोध गरेका हुन्। तर, ब्ल्याकआउटबाट बच्न सकिनेमा आफू विश्वस्त रहेको उनले बताए। न्यू साउथ वेल्समा देशकै ठूलो शहर सिड्नी पर्छ। मूल्यमा भएको वृद्धिका कारण अष्ट्रेलियाको मुख्य होलसेल बिजुली बजार ‘सस्पेन्ड’ भएका बेला उर्जा मन्त्रीको उक्त अनुरोध आएको हो। बोवेनले न्यू साउथ वेल्समा बस्ने मानिसहरूलाई सकेसम्म धेरै उर्जा जोगाउन आग्रह गरे। ‘तपाइँसँग छनौट छ भने साँझ ६ बजेदेखि ८ बजेसम्म बत्ति नचलाउनुहोस्’, क्यानबेरामा एउटा मिडिया सम्मेलनमा उनले भने।
अष्ट्रेलिया कोइला र तरल प्राकृतिक ग्यासको विश्वको सबैभन्दा ठूलो निर्यातकर्ता हो। तर, गत महिनादेखि देशले ऊर्जा संकटसँग संघर्ष गरिरहेको छ। अहिले पनि देशको तीन चौथाइ विद्युत् कोइलाबाट उत्पादन भइरहेको छ। नवीकरणीय ऊर्जामा लगानी गरेर उत्सर्जन घटाउन पर्याप्त काम नगरेको सरकारमाथि लामो समयदेखि आरोप लाग्दै आएको छ। हालैका हप्ताहरूमा अष्ट्रेलियाले कोइला आपूर्तिमा अवरोध हुँद कोइलाबाट चल्ने धेरै पावर प्लान्ट प्रभावित भएका छन्।










