कालचिनी। लगातार परिरहेको मुसलधारे बर्षाले गर्दा कालचिनी खण्डको भारत भोटाङ सीमान्त दुर्गम बक्साद्वार पहाड़को गाउँहरूमा विद्युत परिसेवा ठप्प बनेको छ। गएरातिको एकहोरो ओईरीरहेको पानीले गर्दा ठाउँ ठाउँमा पहिरो गएको र ठूल्ठूला रुखहरू ढलेकोले आउजाउ गर्ने बाटो बन्द भएको स्तिथि रहेको बक्साद्वार बासिन्दा तथा युवा समाजसेवी विकास थापाले फोन मार्फत जनाएका छन्। पहिरो झरेर रुख ढलेकोले बक्साफोर्टदेखि खाटालाईन लाप्चाखा जाने उकालो बाटो पनि पुरिएको साथै बिजुलीको तारहरु सबै चुँटिएकोले बिजुली परिसेवा झन ठप्प बनेको जनाएका छन्।

यसैपनि गत दुई तीन दिनदेखि नै बक्साद्वारमा बिजुली परिसेवा नरहेको त्यसमाथि बिजुलीका तारहरू चुँड़िएकोले अहिले अस्तव्यस्त भएको जान्नमा आएको छ। यदि यसरी नै पानी परिरहे पैह्रो जाने अधिक सम्भावना रहेको र बक्साफोर्ट र खाटालाईन माझ रहेको कल्भर्ट पनि खोलाको तिव्रताले भत्किने सम्भावना रहेको बक्साद्वार बासिन्दाहरूले जनाएका छन्।









