क्रामाकपा बिजनबारी आञ्चलिक समितिद्वारा १३७औं मई दिवस पालन

IMG-20230501-WA0306.jpg

बिजनबारी: क्रामाकपा बिजनबारी आञ्चलिक समितिद्वारा १३७औं मई दिवस पालन गरिएको छ। लिजाहिल चियाबारी,मेमधुरा, पद्यश्री सार्वजनिक भवनमा क्रामाकपा बिजनबारी आञ्चलिक समितिको आयोजनामा १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस समारोह पालन गरिएको छ। समारोहका अध्यक्ष कमरेड सन्तवीर राई उपस्थित रहेका थिए भने, मुख्य अतिथिको रूपमा क्रामाकपा केन्द्रीय महासचिव कमरेज नर्बु लामा, विशिष्ट अतिथिमा कमरेड मदन तामाङ, पार्टी केन्द्रीय सदस्य, अतिथि कमरेड डीआर राई, पार्टी महापरामर्श सदस्य एंव बिजनबारी आञ्चलिक प्रमुख सल्लाहकारको उपस्थिति रहेको थियो। क्रामाकपा सदस्य-सदस्यावर्गको उपस्थितिमा आजको समारोह सम्पन्न गरिएको छ। कार्यक्रममा सभापतिको बाहुलीबाट शहीद वेदीमा द्वीप प्रज्ज्वलनसंगै पुष्प आर्जन गरियो भने प्रमुख अतिथि एंव विशिष्ट अतिथिको करकमलबाट पार्टीको लाल झण्डा उत्तोलन गरे पश्चात् सम्पूर्ण उपस्थित पार्टीका वृद्ध, युवा, नारी सदस्य-सदस्याबाट रक्तिम अभिनन्दन सरह हार्दिक श्रद्धाञ्जली दिँदै शहीद वेदीमाथि पुष्प चढाई एक मिनटको मौन धारण गरियो। समारोहमा सम्बोधन गर्दै प्रमुख अतिथि कमरेड नर्बु लामाले ८०-९० दशकका लाल किल्ला मानिने ठाउँ बिजनबारी बस्ती-कमान भेकमा सहुलियतको लोभमा लागेर अन्य दलतिर पलायन भएता पनि अझैसम्म पनि क्रामाकपाको सिद्धान्तलाई अनुशरण गर्दै नि:स्वार्थ रुपमा अडिग रहेर आफ्नो पार्टीको मूल उद्देश्यलाई नभुल्ने जुझारु कमरेडहरुप्रति मई दिवसको हार्दिक बधाई दिनको साथै भविष्यमा पनि पार्टीको कार्यक्रममार्फत् पहाडका सबै जनताहरुलाई वर्तमानमा दार्जिलिङ पहाडको राजनैतिक परिवेशको सत्यता बताउने काम अवश्य गर्नेछ जसको निम्ति क्रामाकपा सँधै तत्पर रहेको बताए। यसको साथै हरेक क्षेत्रमा पञ्चायत चुनावमा क्रामाकपाले सही सदस्यहरुलाई तयार पारेर भाग लिने छोटो सन्देश दिए भने अब आउने समयमा यस मई दिवसमा साहित्यिक, साँस्कृतिक, कार्यक्रमलाई पनि समावेश गराएर भव्य रुपमा सम्पन्न गरिनु पर्नेछन् भनी परमार्श दिएका छन्।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि कमरेड मदन तामाङले पनि मई दिवसको हार्दिक बधाई टक्र्याउनुको साथै वर्ग संघर्षको यु्द्धमा क्रामाकपा सँधै अघि आउने र स्किम र सहुलियतले जन्माएको कुनै पनि पार्टीको पछि नलाग्ने भन्दै आफ्नो सिद्धान्त र आइडोलोजीले भरिएको दलको झण्डाको छत्र छाँयामा रहेर आजीवन सामुहिक हितको निम्ति अघि आउने विचार व्यक्त गरे।
यसको साथै कमरेड डीआर राईले पनि मई दिवसको शुभकामना व्यक्त गर्दै राजनैतिक वौध्दिक विकाशद्वारा युद्ध गरिनु पर्ने अवगत गराए भने अहिलेको युगमा पनि मालिकहरुद्वारा परोक्ष रुपमा चिया बगान, सिन्कोना र बन बस्तीतिर वसोवास गर्ने जनता श्रमजीवी किशानहरुमाथि थिचोमिचो गरेको प्रष्ट देखापरेको छ,जसको निम्ति हाम्रो क्रामाकपा पार्टीले सामुहिक हक, हित र अधिकारको लागि सधैँ पहल गरेको बताए। यसको निम्ति पुनः जनतालाई जागरुक गराउने काम पार्टीकै नेतृत्वमा हुनुपर्छ भन्ने जोड दिएका छन्। कार्यक्रममा युवा कवि शिव राईले मौलिक दुईवटा कविताहरु वाचन गरे भने स्वागत भाषण आञ्चलिक सचिव कमरेड प्रेम बानु राईले प्रस्तुत् गरेपछि नारी प्रकोष्ठबाट कमरेड मुन्ना तामाङले पनि कार्यक्रमलाई सम्बोधन गरिन् र अन्त्यमा अध्यक्षताको सम्भाषणमा धन्यवाद राखिएको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement