गान्तोकः सिक्किमका पूर्व मुख्यमन्त्री तथा एसडीएफ पार्टी अध्यक्ष पवन चामलिङले मई दिवसको अवसरमा सिक्किमका समस्त मजदूर, श्रमिकवर्ग अनि मेहनती जनताप्रति हार्दिक एवं क्रान्तिकारी अभिवादन, सम्मान र अभिनन्दन व्यक्त गरेका छन्। एसडीएफ अध्यक्षले आज जारी आफ्नो सन्देशमा भनेका छन्, ‘अन्तररष्ट्रिय मजदूर दिवस मानवजातिको आजसम्मको इतिहासमा यस संसार र मानव समाजलाई आफ्नो हात, सीप र कलाले निर्माण गर्ने श्रमजीवीहरूलाई जस् दिने सबैभन्दा ठूलो परिघटना हो। मानिसको कठोर श्रमबिना यतिको सुन्दर मानव सभ्यताको निर्माण हुन सम्भव नै थिएन। मई दिवसले, यसैले, श्रमजीवीहरूलाई उनीहरूको ऐतिहासिक महत्व प्रदान गऱ्यो।’
उनले अझ भनेका छन्, ‘मानवजातिको उन्नति र अग्रगति श्रमिक हातहरू, सिर्जनशील मस्तिष्कहरूकै परिश्रमको बलमा अड़िएको छ, अघि बढ़िरहेको छ। संसारलाई मानवअनुकूल बनाउने मानवीय श्रमशक्तिहरूले पनि तर आफ्नो अधिकार, आत्मसम्मान र मानवीय बँचाइका निम्ति कठिन आत्मबलिदानीपूर्ण सङ्घर्षहरू गर्नुपरेका कथाहरूले इतिहासका पानाहरू रगतका अक्षरहरूले रङ्गिएका छन्।’ उनले मई दिवस मजदूर तथा श्रमिकहरूको त्यही सङ्घर्षले हासिल गरेको विजयको प्रेरणामय स्मृति दिवस रहेको बताएका छन्। चामलिङले भनेका छन्, ‘मजदूरहरूको सङ्घर्ष रोकिएको छैन। आफ्ना अधिकारहरूको रक्षा गर्न, आफूले सिर्जना गरेका सम्पदाहरूको अधिकारपूर्वक उपभोग गर्न मजदूरहरूले आज पनि विभिन्न रूपहरूमा सङ्घर्ष गर्नुपरिरहेको छ। निरन्तरको सङ्घर्ष र एकजुटताले नै मजदूरहरूले हासिल गरेका ऐतिहासिक उपलब्धिहरूको रक्षा हुनेछ।’
उनले आफ्नो सन्देशमा सिक्किममा एसडीएफ पार्टीले नै सर्वप्रथम सिक्किममा मई दिवस मनाउने परम्परा शुरू गरेको बताएका छन्। एसडीएफ सरकारले २५ वर्षमा सिक्किममा मजदूरहरूको पक्षमा असङ्ख्य कामहरू गर्नका साथै प्रगतिशील कानूनहरू लागू गरेर श्रमिकवर्गको हक र हितको सुरक्षा गरेको पनि उनले दाबी गरेका छन्। उनले मजदूर र मेहनती जनताको अधिकार र सम्मानका निम्ति एसडीएफको क्रान्ति जारी छ भनी बताएका छन्।









