गान्तोकः रम्फू पुलिसले हिजो ड्रग्ससहित दुई जनालाई पक्राउ गर्न सफल बनेको छ। पक्रा पर्ने आरोपितहरूलाई पश्चिम बंगालको किर्णे निवासी मदन कार्की र लोहापुल निवासी गगन छेत्रीकोरूपमा चिन्हित गरिएको छ। पुलिसले जानकारी गराए अनुसार, रम्फू पुलिसले एउटा ट्रकलाई रम्फूमा जाँच गर्ने क्रममा आरोपितबाट ड्रग्स फेला पारेको हो। उक्त टाटाले सिलगढीबाट ईटा र रड लिएर गान्तोक आइरहेको थियो।
पुलिसले जाँचको क्रममा ३०९ बोतल कफ सिरप र ८४६ वटा स्पास्मो प्रोक्सिवन क्याप्सुल फेला पाऱ्यो। ड्रग्स घर निर्माणको निम्ति प्रयोग गरिने ईटा र रडभित्र लुकाएर राखेको पुलिसले जानकारी गराएको छ। यस घटनालाई लिएर रम्फू पुलिसले सिक्किम एन्टी ड्रग्स एक्ट २००६ अन्तर्गत आरोपितहरू विरूद्ध मुद्दा दर्ता गरेको छ।