कालचिनीः शुक्रबार भाजपाले डाकेको १२ घन्टे बन्दमा कालचिनीमा भाजपाको गुन्डाहरूले दोकानेहरूलाई धम्की दिँदै जबरजस्ती दोकानपाट बन्द गर्न लगाएको प्रतिवाद गर्दै अपरान्ह समय तृणमूल समर्थकहरूले कालचिनी चौपतिमा बन्दको प्रतिवाद गऱ्यो।
उक्त प्रतिवाद सभामा तृणमूल युवा कङ्ग्रेस कालचिनी ब्लक सभापति पवन लामा छात्रा नेता हैदर अली अन्सारी तृणमूल नेता ओमदास लोहार एवम् तृणमूल समर्थकहरूको जमघट रहेको थियो। छात्रा नेता तथा जिल्ला नेता हैदर अली अन्सारीले भाजपाको बन्दमा हाम्रो कुनै सरोकार नरहेको तर भाजपाले गुन्डाहरू लगाएर कालचिनीका सानोतिनो दोकानेहरूलाई धम्की लगाई जबरजस्ती दोकानपाट बन्द गर्न लगाएको र यसमा स्वयं कालचिनी विधायक विशाल लामा संलिप्त रहेकोले यस्तो घिनलाग्दो हरकतको तृणमूलले विरोध गर्ने र यदि कालचिनीमा भाजपाले अशान्ति सृष्टि गर्न खोजे तृणमूलले यसको जमेर विरोध गर्ने चेताउनी दिएको छ।
यस अवधि तृणमूल समर्थकहरूले कालचिनी र हेमिल्टनगञ्ज बजार क्षेत्रमा व्यावसायिक तथा दोकानेहरूलाई भाजपाको धम्कीसित कोही नडराउने र तृणमूल सदैव जनताको साथ रहेको भन्दै माइकिङ गर्दै हिँड़ेको थियो। तृणमूल नेताहरूले अशान्ति नहोस भनेर तृणमूल चुपचाप बसेको तर चुप बस्यो भनेर भाजपले यसको फाइदा उठाउन खोजे परिणाम राम्रो नहुने बताएका छन्। यता भाजपा नेताहरूले तृणमूलले बन्द सफल भएको देखेर सहन गर्न नसकेको र झुटो आरोप लगाएर नाटक गरेको जनाएका छन्। भाजपाको कुनै नेता कार्यकर्ताहरूले कसैलाई बन्द पालन गर्न जबरजस्ती नगरेको बरु जनता आफैले आज बन्द पालन गरेको जनाएका छन्।










