दार्जीलिङ: दार्जीलिङ नगरपालिकाको वार्ड नम्बर १५ की निर्वाचित नगरपार्षद उषा राईको सदस्यतामाथि आज निर्वाचन आयोगले सुनुवाई गर्ने मिति तय गर्दै दुवै पक्षलाई उपस्थित रहने सूचना जारी गरेको थियोl त्यसको आधारमा हाम्रो पार्टीको पक्षबाट अध्यक्ष अजय एडवाडर्स स्वयं उपस्थित रहेका थिएl उनीसँग पार्टीको केन्द्रीय उपाध्यक्ष रुबेनदास प्रधान र फिन्जो वाङगेल गुरूङ पनि उपस्थित थिए। तर कतिपय कारणहरूले उषा राई उपस्थित भइनन् अनि यसको जानकारी उनको अधिवक्ताले निर्वाचन आयोगलाई अवगत गराउँदै एक हप्ताको समय मागेका छन्। अजय एडवडर्सले निर्वाचन आयोग समक्ष आफ्नो पक्ष राखेका छन् अनि निर्वाचन आयोगले अजय एडवाडर्सका बयानहरू नोट गरेर सुरक्षित राखेको जानकारी पार्टी केन्द्रीय उपाध्यक्ष रूवेन दास प्रधानले दिएका छन्। उपाध्यक्ष प्रधानले भने, ‘निर्वाचन आयोगले कुनै पनि विषयमाथि अन्तिम सुनुवाई गर्नअघि सबै पक्षका कुराहरू सुन्ने गर्छन्। आज अजय एडवाडर्सको पक्ष सुनेका छन् भने अब उषा राईको पक्ष सुन्नेछन, त्यसपछि निर्वाचन आयोगले आफ्नो पक्ष सुनाउने छन्l’










