गान्तोकः सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले बिहिवार ओल्ड सिक्किम हाउसमा सिक्किम विद्यार्थी संघ, नयॉं दिल्लीका सदस्यहरूसॅंग भेट गरे। उक्त जानकारी मुख्यमन्त्रीले आफ्नो आधिकारिक फेसबुक पेजमा दिएका छन्।
मुख्यमन्त्रीले ओल्ड सिक्किम हाउसमा सिक्किम विद्यार्थी संघका सदस्यहरूसॅंग भेट गरेको जानकारी गराएका छन्। यस भेट अवधि उनले विद्यार्थीहरूसॅंग उनीहरूको पठन-पाठनबारे जानकारी लिए। उनले विद्यार्थीहरूलाई सर्वश्रेष्ठका लागि प्रयत्न गर्न अनि आफ्नो सम्बन्धित क्षेत्रहरूमा उत्कृष्टता प्राप्त गर्न प्रोत्साहित गरे।
उल्लेखनीय छ, मुख्यमन्त्री तामाङ आफ्नो दुई दिवसीय दिल्ली भ्रमण अवधि वान अर्थ वान हेल्थ कार्यक्रममा सहभागी बने। यसैगरी, उनले केन्द्रिय विद्युत, नयॉं एवं नवीकरणीय उर्जा मन्त्री आरके सिंहसॅंग भेट गरे। उनले ओल्ड सिक्किम हाउसमा सिक्किमका उपचाराधिन बिरामीहरूसॅंग पनि भेट गरेका थिए।