अलिपुरद्वार: बीजेपीले आह्वान गरेको १२ घण्टाव्यापी उत्तरबंगाल बन्दको प्रभाव अलिपुरद्वारमा स्पष्टरुपमा देखियो। अलिपुरद्वार जिल्लाको जयगाउँ, ह्यामिल्टनगञ्ज, कालचिनी, अलिपुरद्वार लगायतका विभिन्न क्षेत्रहरूमा बिहानैदेखि भाजपा कार्यकर्ताहरूले सडकमा धरना दिए।बन्द समर्थकहरूले अलिपुरद्वारमा उत्तरबंगाल राज्य परिवहन निगमको डिपो अवरुद्ध गरे। सहर र आसपासका पसलहरू खुलेनन्। सरकारी बस तथा वाहनसँगै निजी सवारीसाधनहरू पनि चलेनन्। कालचिनी क्षेत्रमा बिहानैदेखि भाजपा कार्यकर्ताहरू सडकमा उत्रिए। सबै सवारी साधनको आवतजावत बन्द भएसँगै कालचिनीका सबै पसलहरू पनि बन्द रह्यो। भाजपा कार्यकर्ताहरूले अलिपुरद्वारको चौपीठीमा टायर बालेर विरोध प्रदर्शन गरेका छन्।