लुकसान: विद्यार्थी सङ्ख्या कम भएका सरकारी स्कूलहरू बन्द हुने सम्भावना चुल्लिरहेको अवस्थाबीच थुप्रै स्कूल अहिले तारोमा परेको छ। तर यस विपरीत विद्यार्थीसंख्याले होइन विद्यालय भवन र स्थायी शिक्षकहरूको अनुपलब्धताले डुवर्सको नगरकट्टा प्रखण्डस्थित दुईवटा नेपाली निम्नमाध्यमिक विद्यालय बन्दको संघारमा छ। लुकसान नेपाली जुनियर हाई स्कूल र नगरकट्टाको खास बस्ती नेपाली जुनियर हाई स्कूल स्थायी शिक्षक र अध्ययनकक्षाको अभावले धर्मर अवस्थामा पुगेको छ। यसै स्थितिबाट पार पाउन शिक्षकप्रभारी, स्थानीय मातृभाषा शिक्षाप्रेमी एवं अभिभावकवर्ग तथा शिक्षासेवीहरू आज जलपाईगढी डीआई अफिस पुगेका थिए। उक्त टोलीलाई अगुवाई गरेर गएका शिक्षक तथा युवालेखक विनम रनपहेंलीले जनाएअनुसार डीआई बालिका गोलेसितको भेटवार्ता अत्यन्तै फलप्रद भयो। डीआई म्याडमले आफू स्वयं यी दुई स्कूलको विषय लिएर गम्भीर रहेको एवं समस्या निवारणका लागि उत्सुक रहेको जनाइन् भन्ने जानकारी पाइएको छ। उक्त भेटघाटक्रममै तुरुन्तै गेस्ट टिचर पठाउने अनि स्कूलभवन बनाउन आउँदो योजनामा प्रस्ताव गाभ्ने गर् प्रतिश्रुति दिनका साथै लुकसान निम्नमाध्यमिक विद्यालयलाई सबै आवश्यक विधि पूर्ण गरेर माध्यमिकमा परिणत गर्दिने वचन दिएको जनाइएको छ।
रनपहेँलीले जनाएअनुसार वार्ता टोलीको प्रतिनिधित्व गर्दै आफूले डुवर्समा भएका नेपाली स्कूलहरू मातृभाषा शैक्षिक अधिकार आन्दोलनको उपज हो भन्ने जनाउँदै यी स्कूल विद्यार्थी पढाउने स्कूल मात्रै नभएर डुवर्सेली नेपालीभाषीहरूको भाषा, साहित्य, संस्कृति संरक्षणको केन्द्र हो भन्नेमा जोर दिँदै विभागले यसबारे विशेष ध्यानाकर्षण गर्न माग गरियो। स्मरण गराइन्छ, यी दुई स्कूलको संरक्षण र उत्थाननिम्ति गत महिनादेखि नेपाली स्कूल बचाऔं अभियान चलिरहेछ। आजको जलपाईगढी-वार्ता अभियान सार्थक टुङ्गोमा पुग्ने दिशामा कोसेढुंगा ठहर हुने अपेक्षा गरिएको छ।










