गान्तोकः सिक्किम स्ट्रेन्थ लिफ्टिङ एसोसिएशनले मार्तममा पॉंचौं स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनशीप सफलतापूर्वक सम्पन्न भएको बताएको छ। संघले सिक्किमका राज्यपाल तथा अन्यहरूलाई धन्यवाद पनि दिएको छ।
संघका पदाधिकारीहरूले आज राजधानीमा एक प्रेस वार्ता राखेर धन्यवाद दिए। संघका कार्यकारी अध्यक्ष एलेन तार्गेनले गत २२-२३ अप्रेलका दिन मार्तममा आयोजित उक्त प्रतियोगितामा राज्यपाल लक्ष्मण प्रसाद आचार्य मुख्य अतिथिको रूपमा उपस्थित रहेको जानकारी गराउॅंदै संघको तर्फबाट राज्यपाललाई धन्यवाद दिए। यसैगरी, उनले संघका प्रमुख संरक्षक मन्त्री कर्म लोडे भोटिया, क्षेत्र विधायक सोनाम भेन्चुङ्गपा, एसकेएम पार्टीको युवा मोर्चा अध्यक्ष लाक्पा मोक्तान तथा अन्यहरूलाई पनि धन्यवाद दिए।
उनले उदयपुरमा राष्ट्रिय प्रतियोगिता र आगामी दिसम्बर महिनामा दुबईमा अन्तरराष्ट्रिय प्रतियोगिता रहेको अवगत गराए। उनले हालैमा सम्पन्न प्रतियोगिता उक्त आगामी प्रतियोगिताहरूको निम्ति चयन गर्ने एउटा मञ्च पनि थियो भनी बताए। यसैगरी, संघका प्रमुख प्रशिक्षक एवं तकनीकी निदेशक पेमा भोटियाले पनि राज्यपाल तथा अन्यहरूलाई समर्थनका लागि आभार प्रकट गरे।









