गान्तोकः नेपालमा आयोजित द पोएट आइडलको पहिलो उपाधि जित्न सफल भएकी नीलम गुरुङ सिक्किम फर्किएकी छन्। रियालिटी शो पोएट आइडलको पहिलो उपाधि जितेपछि आज मंगलबार सिक्किम फर्किएकी कवि नीलम गुरुङलाई रम्फूमा भव्य स्वागत जनाइयो।
साहित्यप्रेमी र विभिन्न सामाजिक संघ-संस्थाका सदस्यहरू रम्फूमा भेला भएर नीलम गुरुङलाई स्वागत जनाएका थिए। यस अवसरमा विशेष रुपले सिक्किमका मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ, नेपाली साहित्य परिषद्का अध्यक्ष हरि ढुंगेल, मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिव लगायत समाजको विभिन्न पक्षबाट उपस्थित मानिसहरूले खादा माला लगाएर नीलम गुरुङलाई बधाई दिए।

२१ अप्रेलमा द पोएट आइडलको उपाधि जितेकी नीलम गुरुङ आफ्नो पिता दिलीप गुरुङ, माता र परिवारका अन्य सदस्यको साथमा रम्फू आइपुगेकी थिइन्। यस अवसरमा नीलम र उनका परिवारले सहयोगका लागि सम्पूर्ण सिक्किमलाई धन्यवाद दिए।









