सामाजिक कार्यकर्ता प्रकाश पराजुलीसहित सयभन्दा अधिक सिटिजन एक्सन पार्टीमा सामेल

Untitled-1-copy-162

गेजिङः २०१९ मा भएको एडहक शिक्षकहरूको आन्दोलनलाई नेतृत्व गरेका मानेबुङ-देन्ताम निवासी सामाजिक कार्यकर्ता प्रकाश पराजुली सिटिजन एक्सन पार्टीमा सामेल भएका छन्। उनले शिक्षण पेशालाई त्यागेर राजनीतिमा प्रवेश गरेका हुन्। सोमवार गेजिङको सामुदायिक भवनमा आयोजित कार्यक्रम अवधि प्रकाश पराजुली सिटिजन एक्सन पार्टीमा सामेल भएका हुन्। यसरी नै पाकिम जिल्लाको डुगालाखा निवासी टिकाराम नेपाल पनि सरकारी नोकरी त्यागेर यही पार्टीमा सामेल भए। “अब भने राजनीति सुधारको” भन्ने नारासहित सिटिजन एक्सन पार्टीले आज राष्ट्रिय पञ्चायति राज दिवसको अवसरमा गेजिङमा एउटा कार्यक्रम आयोजन गरेको थियो। यसै अवसरमा पश्चिम सिक्किमको विभिन्न निर्वाचन क्षेत्रबाट पनि मानिसहरू पार्टीमा सामेल भए जसको संख्या एक सयभन्दा अधिक रहेको पार्टीले जानकारी दिएको छ। सिटिजन एक्सन पार्टीका प्रमुख समन्वयक गणेश राईको बाहुलीबाट खादा लगाएर पार्टीमा सामेल भएका प्रकाश पराजुलीले राजनीति रहर नभएर जिम्मेवारी हो भन्ने बताए। सिक्किमको इतिहासलाई फर्किएर हेर्नुपर्ने र जिम्मेवारीपूर्वक समिक्षा गर्नुपर्ने समय आएको उल्लेख गर्दै यसबारे सिक्किमका युवाहरूबाट चिन्तन हुनुपर्नेछ भने। अनेकौं सामाजिक आन्दोलन गरेर पनि सिक्किमको प्रजातान्त्रिक स्तरलाई बलियो बनाउन नसकेका कारण प्रजातन्त्रलाई बलियो बनाउन पनि आफू सिटिजन एक्सन पार्टीमा सामेल भएको बताउँदै पार्टीले यस क्षेत्रमा काम गर्नेछ भन्ने उनले विश्वास व्यक्त गरे।

उनले भने, सिक्किम निसासिएको छ, मान्छेको मुख बन्द गरिएको, केही पाउने र नपाउने माझ लडाई गराइएको र समाजलाई मूल मुद्दाबाट विमुख गराइएको स्थिति वर्तमान सिक्किमको छ। यसबाट पार पाउन समाजलाई नयाँ दिशा दिन आवश्यक रहेको छ। वर्तमान सरकारलाई सचेत र होसियारी गराउँदै प्रजातन्त्रको मूल्य र मान्यतालाई मार्ने काम नगर्न उनले आह्वान गरे। सिक्किमको शिक्षा, स्वास्थ्य लगायतका सबै क्षेत्र बरबाद भएर गएको, सिक्किम असुरक्षित भइरहेको छ भन्दै ढाँट र फरेबको राजनीति र वित्त विधेयक २०२३ ले जोडेका चौथो र पाँचौ वर्गले सिक्किमेहरू निसास्निने स्थिति सिर्जना भइसकेको उनले बताए। सिक्किमको वर्तमान स्थितिबाट पार पाउन सिटिजन एक्सन पार्टीले काम गर्नेछ भन्ने पराजुलीले विश्वास व्यक्त गरेका छन्।

सरकारी नोकरी त्यागेर राजनीति रोज्दै आजदेखि सिटिजन एक्सन पार्टीमा सामेल भएका टिकाराम नेपालले परिवर्तनको नारा दिएर सरकारमा आएको वर्तमान सरकारको कार्यकालमा कुनैपनि क्षेत्रमा परिवर्तन नभएको ठोकुवा गरे। परिवर्तनको लागि साथ दिनेलाई एसकेएमले युज एण्ड थ्रो गऱ्यो भन्दै सिक्किमको भविष्यलाई हेरेर सबै एकजुट हुन आवश्यक रहेको नेपालले बताए। सिक्किमका लोकसभा सांसद इन्द्रहाङ सुब्बाले केही काम गर्न नसकेको भन्दै उनले सुब्बालाई रेडकार्ड देखाए। यस कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला पञ्चायत सदस्य देवराज राईले सिक्किमको पञ्चायति राजमा पूर्व र वर्तमान दुवै सरकारले पञ्चायतको संवैधानिक अधिकार सुनिश्चित गराउन नसकेको बताए। उनले २०२४ मा सिटिजन एक्सन पार्टीले सरकार गठन गर्ने पनि दाबी गरे। एसकेएम पार्टीले सबै मुद्दा भोट जित्ने औजारका रूपमा मात्र प्रयोग गऱ्यो भन्दै पार्टीका उपाध्यक्ष पीपी शर्माले कुनै पनि मुद्दामा एसकेएम सरकारले काम नगर्दा सिटिजन एक्सन पार्टी सरकारमा जानु आवश्यक रहेको बताए। वर्तमान सरकारले सबै काम बाहिरको मान्छेलाई दिएका कारण सिक्किममा पैसाको चलखेल बन्द भएको, ग्रामीण क्षेत्रको आर्थिक अवस्था डाँवाडोल बनेको बताउँदै सिटिजन एक्सन पार्टीले राज्यमा आर्थिक सुधारको पक्षलाई पनि वकालत गर्दै राजनीति गरिरहेको बताए। यस बाहेक पार्टीका अन्य पदाधिकारीले पनि समारोहमा उपस्थित मानिसहरूलाई सम्बोधन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement