२४ अप्रेलः ईंग्लिश प्रीमियर लीगमा टोटनह्याम हट्स्पर लाजमर्दो हारको सम्मुखीन भयो। आइतवार राति खेलिएको म्याचमा न्यूक्यासलले टोटनह्यामलाई ६-१-ले पिट्यो। यस हारको साथै टोटनह्यामको च्याम्पियन्स लीगको आउँदो सीजनको निम्ति क्वालीफाई गर्ने सम्भावनालाई पनि ठूलो धक्का लाग्यो कारण तेस्रो र चौथो स्थानमा रहने न्यूक्यासल र म्यानचेष्टर युनाइटेडसँग अहिले निक्कै ठूलो बढ़त रहेको छ। सेण्ट जेम्स पार्कमा होम टीमको शुरुवात नै असाधारण रह्यो अनि म्याचको २१औं मिनटसम्म त न्यूक्यासलले ५ गोल हालिसकेको थियो। यसरी शुरुमै लगातार गोल खाएपछि टोटनह्यामले म्याचबाट नियन्त्रण गुमायो। म्याचमा ५७ प्रतिशत पोजेशनको साथ खेल्ने न्यूक्यासलबाट जेकब मर्फीले दोस्रो र नवौं मिनटमा गोल गरे। यसरी एलेक्जाण्डर इसाकले १९औं र २१औं मिनटमा २ गोल गरे। यसबाहेक जोएलिण्टनले छैटौं र कालम विल्सनले ६७औं मिनटमा गोल गरे। म्याचमा ५ गोल खाएपछि टोटनह्यामबाट ह्यारी केनले ४९औं मिनटमा एक गोल गरी टीमको सामान्य भए पनि सम्मान बचाए। टोटनह्यामले २००८-देखि कुनै प्रमुख ट्रफी जित्न सकेको छैन अनि न्यूक्यासल विरुद्ध हारले टीमको मनोबललाई निश्चित रूपले धरातलमा पुऱ्याउनेछ। यस जीतपछि न्यूक्यासलले ३१ वटा म्याचमा ५९ पोइण्टको साथ प्रीमियर लीग टेबलमा आफ्नो तेस्रो स्थानलाई मजबूत बनायो। यसरी पाँचौं स्थानमा रहने टोटनह्यामसँग ३२ वटा म्याचमा ५३ पोइण्ट रहेको छ। प्रीमियर लीगको अन्य एउटा म्याचमा वेष्ट ह्यामले बोर्नमाउथलाई ४-०-ले पराजित गऱ्यो। वेष्ट ह्याम अहिले ३१ वटा म्याचमा ३४ पोइण्टको साथ १३औं स्थानमा रहेको छ।