अखिल भारतीय महायान बौद्ध म्हाणिपा संघका वार्षिक सभा सम्पन्न

a8d06ecf-1cd8-4bbc-b3a0-061db46295f4

कालचिनीः अखिल भारतीय महायान बौद्ध म्हाणीपा संघको वार्षिक सभा आइतबार संघको अध्यक्ष तथा महागुरु ख्येनछेन रेम्बोर्छे आचार्य सांग्ये ल्हुडोको सभापतित्वमा मूल कार्यालय जयगाउँमा सम्पन्न भयो। महागुरु ख्येनछेन रेम्बोर्छेको स्वागत भाषण पश्चात संघको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अहिलेसम्मको संघले गरेको विभिन्न कार्यक्रमहरू वार्षिक म्हाणी छोगा पूजा, वार्षिक सोजोङ ञ्युङने औं सम्मेलन अनि बोधगयामा हुने म्हाणी दुङछुर बारे साथै विभिन्न शाखाहरूमा भ्रमण गरेको जानकारी संघका महासचिव आचार्य साङ्ग्ये छोफेलले प्रस्तुत गरेको थियो। साल भरिको आय -व्याय सहकोषाध्यक्ष नामग्याल मोक्तानले राखेको थियो भने म्हाणी दुङछुर पूजाको आय-व्यय साङ्ग्ये कोषाध्यक्ष साङ्ग्ये ठिनलेले राखेको थियो।
विगत सालमा सम्पन्न भएको म्हाणी छोगा अनि ञ्युङने औं सम्मेलनको प्रतिवेदन त्यहाँका आयोजक समितिका सचिवहरूले प्रस्तुत गरेको थियो। त्यसरी नै पूर्वाञ्चल असम राज्यबाट चन्द्र पाख्रिन अनि कमला तामाङ मनिपुर राज्यबाट शंकर तामाङ, दार्जिलिङ जिल्ला बाट लाक्पा गोले साथै दलसिहपाड़ा, मेचपाडा़, सेन्ट्रल डुवर्स, बिरपाड़ा, दलगाउँ, गैरीबास,जयगाउँ आदि शाखाहरूले आफ्नो प्रतिवेदन प्रस्तुत गरेको थियो। आगामी सालमा हुने २८ औं म्हाणी छोगा पूजा गरगण्डा शाखामा हुने आयोजक समितिका वरिष्ठ सदस्य सुकबीर योञ्जनले जानकारी गराएको थियो भने आउँदो सोजोङ ञ्युङने औं सम्मेलन सिक्किम राज्यको राभाङला स्थित बुद्ध पार्कमा हुने जानकारी आयोजक समितिका कोषाध्यक्ष डि०के० गोलेले दिएको थियो।
सभामा केन्द्रिय सदस्यहरूको सहमतिमा भुषण शेर्पा, प्रवीण लामा अनि कृष्ण लामालाई पनि केन्द्रिय सल्लाहकारको रुपमा नियुक्ति गरिएको छ। संघको वार्षिक कार्यक्रम म्हाणी छोगा पूजालाई राम्रो प्रकारले देखरेखको निम्ति ११ सदस्यीय कमिटीको गठन गरिएको छ भने अध्यक्षमा एसएम ब्लोन ( बाग्राकोट) सचिव बिधान लामा (दलसिहपाड़ा) र कोषाध्यक्ष बसन्ती लामा (दलसिहपाड़ा) लाई नियुक्ति गरिएको छ। सभामा सम्पूर्ण केन्द्रिय सदस्यहरू लगायत शाखा सचिव अनि अध्यक्षहरूको उपस्थिति रहेको जानकारी संघको महासचिव आचार्य सांग्ये छ्योफेलले दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement