२३ अप्रेलः इण्डियन प्रीमियर लीग (आईपीएल) २०२३-को ३२औं म्याचमा रोयल च्यालेञ्जर्स बेंगलोर (आरसीबी)-ले राजस्थान रोयल्सलाई ७ रनले पराजित गऱ्यो। आरसीबी-को यो लगातार दोस्रो जीत हो भने रोयल्सले लगातार दोस्रो म्याचमा हारको सामना गर्नु पऱ्यो। एम चिन्नास्वामी स्टेडियममा टस हारेर पहिला ब्याटिंग गर्दै आरसीबी-ले २० ओभरमा ९ विकेट गुमाएर १८९ रन बनायो। कप्तान विराट कोहली (०) र शाहबाज अहमद (२)-लाई शुरुमै गुमाएपछि ग्लेन म्याक्सवेल र फाफ डू प्लेसिसले ईनिंग्स सम्हाल्दै तेस्रो विकेटको निम्ति १२७ रनको पार्टनरशीप गरी टीमलाई असल स्थितिमा पुऱ्याए। म्याक्सवेलले ४ वटा छक्का र ६ वटा चौकाको साथ ४४ बलमा ७७ रन बनाए। यसबाहेक डू प्लेसिसले ८ वटा चौका र २ वटा छक्काको साथ ३९ बलमा ६२ रन बनाए।

अन्तिम ओभरहरूमा लगातार विकेटको पतन हुँदा आरसीबी-ले २००-को आँकड़ा पार गर्न सकेन। राजस्थान रोयल्सका बलरहरूमा ट्रेण्ट बोल्ट र सन्दीप शर्माले २-२ विकेट लिए। जवाफमा राजस्थान रोयल्सले २० ओभरमा ६ विकेट गुमाएर १८२ रन मात्र बनाउन सक्यो। देवदत्त पडिक्कलले ७ वटा चौका र एउटा छक्काको साथ सर्वाधिक ५२ रन बनाए। यसबाहेक यशस्वी जयसवालले ३७ बलमा ४७ (५ वटा चौका र २ वटा छक्का) र ध्रुव जुरेलले १६ बलमा अविजित ३४ रन बनाए। कप्तान सञ्जु सेमसन २२ रन बनाएर आउट भए। आरसीबी-का बलरहरूमा हर्षल पटेलले सर्वाधिक ३ विकेट लिए।