कालचिनीः कालचिनी थाना अन्तर्गत सेन्ट्रल डुवर्स चियाबारीको राङ्गामाटी डिभिजनमा आईताबार लिगल अवेयरनेस प्रोग्राम अर्थात कानूनी सचेतना शिविर सम्पन्न भयो। सेन्ट्रल डुवर्स युवा मञ्च र युगान्तर परिवारको संयुक्त सहयोगिता अनि अलिपुरद्वार सबडिभिजन लिगल सर्भिस कमिटीको आयोजनामा सम्पन्न सो शिविरमा पोक्सो एक्ट र ड्रग्स एब्युज सम्बन्धित विषयहरूमा गाउँलेहरूलाई सचेतना गरीएको थियो। सो अवसरमा अलिपुरद्वार सबडिभिजन लिगल सर्भिस कमिटीको सचिव विज्ञान बोस लगायत लिगल एड डिफेन्स काउन्सिलका प्रतिनिधि अनिमेष सरकार, कालचिनी थानाका एसआई देवब्रत कुन्डु, एएसआई मिथुन मोदक एवम् युगान्तर परिवारको प्रमुख तथा विशिष्ट समाजसेवी रामकुमार लामा, सेन्ट्रल डुवर्स चियाबारीको विशिष्ट समाजसेवी मदनकुमार लामा, धुर्बा गोम्देन, सेन्ट्रल डुवर्स पञ्चबीर हाईस्कूलका शिक्षक साथै चुवापाड़ा ग्राम पञ्चायत प्रधान भगवती उराँव, उपप्रधान राजेन लामा एवम् अन्यान्य विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।
शिविरमा कानूनी सचेतना सम्बन्धित चर्चामा पोक्सो एक्ट साथै ड्र्ग्स एब्युज बारेमा उपस्थित वक्ताहरूले कुरा राखेको थियो भने कुनै पनि समस्या भएमा लिगल सर्भिस कमिटी समक्ष कुरा राख्ने आह्वान गरीएको थियो। सो सभा बारेमा सेन्ट्रल डुवर्स युवा मञ्चका सभापति प्रल्हाद विश्वकर्मा र लिगल एड सर्भिसका सचिव विज्ञान बोसले गाउँ समाजमा व्याप्त कतिपय अपराधहरूको निवारणमा कानुनी समाधानको बाटो गाउँलेहरूले नजानेकोले अनि कानुनी समाधानको बाटो सुगम बनाउने उद्देश्यले नै यो लिगल अवेयरनेस प्रोग्रामको आयोजना गरीएको र यसले गाउँलेहरूलाई धेरै जानकारी सहित विकल्प पाउनमा मदत पुग्ने हेतुले शिविर सम्पन्न गरिएको जनाएका छन्।
कार्यक्रममा उपस्थित अलिपुरद्वार सबडिभिजन लिगल सर्भिस कमिटीको सचिव विज्ञान बोसले यो सर्वोच्च अदालतले जारी गरेको पोक्सो एक्ट र सेक्सुअल एक्ट अन्तर्गत सचेतना शिविर गर्ने निर्देश दिएको आधारमा नै कार्यक्रम गरिएको र यो शिविरले समाजलाई सकारात्मक सन्देश दिएको र यसले आगामी दिनमा यसखाले अपराधको नियन्त्रणमा कानूनी सहायता गाउँलेहरूले प्राप्त गर्नेछ भन्ने कुरामा आफूहरू आशावादी रहेको जनाएका छन्। आयोजक कमिटीको पक्षबाट सेन्ट्रल डुवर्स युवा मञ्चका सभापति प्रल्हाद विश्वकर्माले कार्यक्रम भव्य सफल भएको र यसले अवश्यै पनि गाउँलेमा सचेतना आउने र यसले सामाजिक क्षेत्रमा भईरहेको अपराधिक गतिविधिमा नियन्त्रण आउने आशा व्यक्त गरेका छन्।










