गान्तोक। सिक्किम उच्च न्यायालयका मुख्य न्यायाधीश विश्वनाथ सोमादरले आज न्यायालय परिसरमा ई-सेवा केन्द्र/ ई-कोर्टको उद्घाटन गरे। यस अवधि उनीसँग उच्च न्यायालयका न्यायाधीश मिनाक्षी मदन राई, उच्च न्यायालयकै न्यायाधीश साथै सिक्किम उच्च न्यायालयको कम्प्युटर कमिटीका चेयरमेन भाष्करराज प्रधान, सिक्किमका अतिरिक्त महाअधिवक्ता, बार एसोसिएशन अफ् सिक्किमका अध्यक्ष अनि कार्यकारी सदस्यहरू, उच्च न्यायालय बार एसोसिएशन लगायत बारका सदस्यहरू, अधिकारीहरू, कर्मचारीहरूको उपस्थिति रहेको थियो।
आफ्नो सम्बोधनमा मुख्य न्यायाधीश विश्वनाथ सोमादरले आज उद्घाटन गरिएको ई-सेवा केन्द्रको महत्वबारे विस्तृत रूपमा जानकारी गराउँदै यो अधिवक्ता अनि आम न्यायकर्ताहरूको हितमा स्थापना गरिएको बताए। यस ई-सेवा केन्द्रले राज्यमा आम न्यायकर्ताहरूलाई उनीहरूको मामिलाबारे महत्वपूर्ण जानकारी प्रदान गरेर न्यायसम्म पुऱ्याउन सहयोग प्रदान गर्नेछ। ई-सेवा केन्द्र उद्घाटनको अवसरमा प्रत्यक्ष प्रदर्शन पनि गरिएको थियो। यसमार्फत ई-सेवा केन्द्रको सुविधामार्फत एउटा मुद्दा दर्ता गरिएको दर्शाउँदै यसको कार्यविधिबारे व्याख्या गरिएको थियो।