मंगन: राज्यभरि रिक्त ग्राम अनि जिल्ला पञ्चायत आसनहरूको निम्ति आगामी 20 अप्रेलको दिन सम्पन्न हुने उप-चुनाउलाई ध्यानमा राखेर पीठासीन अधिकारी र मतदान अधिकारीहरूलाई लिएर अन्तिम चरणको तालिम कार्यक्रम आज मंगन जिल्लाको पेण्टोकमा सम्पन्न भयो। यहाँ नामोक स्वायेम जिल्ला टेरिटोरियल समष्टिको निम्ति उप-चुनाउ हुनेछ। राज्य चुनाउ आयोगद्वारा आयोजित तालिम कार्यक्रममा मंगन जिल्लाका जिल्लापाल एवं पञ्चायत मतदान अधिकारी हेमकुमार छेत्री, अतिरिक्त जिल्लापाल श्रीमती छिरिङ योङ्दा सार्छो, पुलिस अधीक्षक डा. छिरिङ ग्यात्सो लगायत अन्य अधिकारीहरू अनि पीठासीन र मतदान अधिकारीहरूको उपस्थिति रहेको थियो।
तालिम कार्यक्रमलाई संक्षिप्तमा सम्बोधन गर्दै जिल्लापाल हेम कुमार छेत्रीले पीठासीन अनि पुलिस अधिकारीहरूको भूमिका अनि जिम्मेवारीबारे जानकारी गराए। उनले सबैलाई समर्पित बनेर कार्य गर्नुपर्ने आह्वान गरे।
पुलिस अधीक्षक डा. छिरिङ ग्यात्सोले प्रभावकारी ढंगमा मतदान सम्पन्न गराउन आवश्यक उपकरणहरूको सतर्कतापूर्वक जाँच गर्नुपर्ने तालिममा सामेल पीठासीन अनि मतदान अधिकारीहरूलाई सुझाउ दिएका छन्। उनले इभिएम मशीनको पूर्ण सुरक्षाको जिम्मा तोकिएका मतदान केन्द्रका सबै मतदान दलमा रहेको पनि बताए।