गान्तोक: आर्थिक रूपमा विपन्न परिवारका रोगीहरूका लागि निरन्तर रूपमा सेवा गर्दै आइरहेको सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको भातृ संगठन गरीब जनकल्याण प्रकोष्ठले गल ब्लाडरमा स्टोनको कारण शल्यक्रिया गर्न बाध्य बिरामीहरूलाई सिलगड़ीको न्यूटेया गेट्वेल् अस्पतालमा लगेर शल्यक्रिया गराउने पहल शुरू गरेको छ। वर्तमान सरकारले राज्यको स्वास्थ्य क्षेत्रमा सुधार ल्याएर सबै बिरामीको सहजै उपचार भइरहेको हुँदा पनि अस्पतालहरूमा भएको भीड़को कारण मुख्यमन्त्री प्रेमसिंह तामाङ-गोलेको निर्देशनमा उनीहरूलाई शीघ्र स्वास्थ्य सेवा उपलब्ध गराउन सिलगढी लगिएको हो। पहिलो चरणमा 26 जना बिरामीको शल्यक्रिया सफल भएको छ। गरीब जनकल्याण प्रकोष्ठका मुख्य संयोजक मनोज लामाको अगुवाइमा रहेको टोलीले बिरामीहरूको निरन्तर देखभाल गरिरहेका छन्। टोलीमा योजना सल्लाहकार दिपेश भण्डारी, पश्चिम जिल्ला संयेजक अरूण दीपराज गुरूङ लगायत अन्यहरू पनि सामेल छन्।सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकारले गरीब बिरामीहरूको मर्मलाई बुझेर लगातार रूपमा यसरी चिकित्सा सेवा प्रदान गरिरहेको छ भने विभिन्न दुर्गम ठाउँमा पुगेर प्रकोष्ठका प्रतिनिधि तथा कर्मचारीहरूले सेवा प्रदान गरिरहेको कुरा पनि सर्वविदित छ। प्रकोष्ठले अस्पतालमा उपचाराधीन बिरामी तथा उनीहरूका अभिभावकसँग भेट् गरेर आर्थिक सहयोग पनि गरेका छन्।










