काठमाण्डौँः मानसखण्ड र नेपाल-भारत सम्बन्ध विषयक संगोष्ठी सोमवार सम्पन्न भएको छ। नेपालको सुदूरपश्चिम प्रदेशको धनगढीमा १५ अप्रेलबाट शुरु भई सोमवार समापन भएको संगोष्ठीमा नेपाल र भारतबीचको पौराणिक सम्बन्ध र कनेक्टिभिटी बढाएर दुवै देशले लाभ लिनसक्ने विषयमा गम्भीर विमर्श भयो। समापन समारोहमा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले दुई देशबीचको अर्थसामाजिक सम्बन्ध थप मजबुत बनाउनुपर्नेमा जोड दिए। उनले अन्तरदेशीय व्यापार तथा आवागमनलाई सहजीकरणका लागि आवश्यक पूर्वाधार निर्माणमा भारत सरकारले सहजीकरण गर्न नेपालले पहल गरी भारतले सहयोग गर्नुपर्ने बताए।
नेपालका लागि भारतका राजदूत नविन श्रीवास्तवले मानसखण्डको सूचना फैलाउनुपर्नेमा जोड दिए। उनले धार्मिक पर्यटनमा मानसखण्डको प्रचार जरुरी भएको बताए। मानसखण्डको प्रचारमा भारतीय राजदूतावास मिलेर काम गर्न तयार रहेको बताए। उनले नेपाल सरकारसँग मिलेर भारत सरकार दुई देश जोड्ने थप मोटरबाटो निर्माणका लागि विचार विमर्श गरिरहेको बताए।नेपालकी सांसद आरजु देउवाले दुई देशबीचको सम्बन्धको चर्चा गर्दै पूर्वाधार विकासमा थप सहयोगमा जोड दिइन्। सुदूरपश्चिम विश्वविद्यालय मुख्य आयोजक रहेको संगोष्ठीमा नेपाल र भारतका विज्ञहरूले दुई देशको सम्बन्ध, सम्भयता र सांस्कृतिक कनेक्टिभिटीलगायतमा गम्भीर छलफल गरे।










