कोलकाता: पश्चिम बंगालमा महंगाई भत्ता (डीए) को मागमा आन्दोलन गरिरहेका सरकारी कर्मचारीहरूको प्रतिनिधिमण्डलले दिल्ली गएर केन्द्रिय मन्त्री स्मृति ईरानी र निर्मला सीतारमणसित भेट गरेको थियो। यस अवधिमा ज्ञापन सुम्पिएको थियो जन्तर मन्तरमा ५०० भन्दा धेरै कर्मचारीहरूको धरना पनि भएको थियो। अब यसलाई लिएर सत्तारूढ़ पार्टी तृणमूल कांग्रेसले दिल्ली गएका कर्मचारी कहाँ बसेका थिए, यसलाई लिएर प्रश्न चिह्न खड़ा गरेको छ। पार्टी प्रवक्ता कुणाल घोषले सोमवार ट्वीटरमा हिन्दू महासभा भवनको एक रसीद साझा गरेका छन्, जसमा आन्दोलनरत कर्मचारीहरू बसेको उल्लेख छ। यसको निम्ति एक रसीदमा एक लाख रूपियाँ र दोस्रो रसीदमा ७३ हजार रूपियाँको भुकतान गरिएको छ। रसीदको प्रति ट्वीटरमा साझा गर्दै कुणाल घोषले लेखेका छन्, यो रसीद असली हो या नकली? संग्रामी संयुक्त मंचका कार्यकर्ताहरू दिल्ली गएका थिए भने कहाँ बसेका थिए? यति रूपियाँ किन दिइयो? कसले दिएको हो? कति रूपियाँको असूली गरिएको छ? पर्दाको पछाड़ी राम र वामको सांठगांठ उजागर भएको छ। यदि यो रसीद नकली हो भने आन्दोलनकारीहरूको संयुक्त मंचले यसमा जानकारी दिओस्। उनले आफ्नो यस ट्वीटको माध्यमले यो बताउने प्रयास गरेका छन् कि राज्य सरकार विरुद्ध यस आन्दोलनमा वामदलहरूले भाजपा समान विचारधारा बोक्ने संगठनहरूको सहयोग प्राप्त भईरहेछ। त्यही, संग्रामी संयुक्त मंचका नेता संदीप घोषले भने, कूल ५४० जना दिल्ली धरना दिन गएका थिए। त्यहाँ हामी हिन्दू महासभा भवन बाहेक एक मेरिज हल र बिरला मन्दिरमा बसेका थियौं। अधिकतर सदस्य हिन्दू महासभा भवनमा बसेका थिए, यसैले त्यहाँ अधिक रूपियाँ दिइएको छ, हामीसित लुकाउनलाई केहीपनि छैन। सबै रूपियाँ नगदी दिइएको छ र त्यसको रसीद पनि पाइएको छ। जुन रसीद कुणाल घोषले आफ्नो ट्वीटरमा हालेका छन्, त्यो हामीले नै सार्वजनिक गरेका हौं। हाम्रो आन्दोलनको खर्चाबारे कसैले जान्न चाहे हामी तयार छौं किनभने हाम्रो दिल्ली यात्रा र आन्दोलनको खर्चाको अडिट पनि भएको छ।