काठमाडौंः नेपालको विदेशमन्त्रीमा एनपी साउद नियुक्त भएका छन्। उनले आज आइतवार नै पद तथा गोपनीयताको शपत लिएका छन्। शपतपछि विदेश मन्त्रालयमा पुगेर पदभार ग्रहणपछि उनले प्रधानमन्त्रीले चाँडै भारत भ्रमण गर्ने बताए। त्यसको तयारी भइरहेको उनको भनाई थियो।
साउद नेपाली काँग्रेसका केन्द्रिय सदस्य हुन्। उनी कञ्चनपुरबाट सांसदमा निर्वाचित भएका थिए। काँग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र साउदलाई विदेशमन्त्री बनाउन शनिवार नै सत्ता गठबन्धनका प्रमुख नेताहरुको छलफलबाट टुंगो लागेको थियो। प्रधानमन्त्री प्रचण्डले मे महिनाको शुरुमै भारतको भ्रमण गर्ने चर्चाका बीच साउदको विदेशमन्त्रीमा नियुक्ति भएको हो। नेपालमा विदेश मन्त्रालयमा भारत भ्रमणको तयारी चलिरहेको छ। भारत भ्रमणमा जलविद्युत, विद्युत व्यापारलगायतका विषयमा महत्वपूर्ण छलफल हुने गरी तयारी भइरहेको विदेश मन्त्रालय स्रोतले जानकारी दिएको छ।









