काठमाण्डौँः विश्वको सर्वोच्च शिखर एभरेष्ट आरोहरणका लागि ४७ देशका २४३ आरोहीले अनुमति पाएका छन्। यो वर्षको वसन्त ऋतुमा आरोहरणका लागि आवेदन दिनेहरुमध्ये अनुमति पाउने २४३ मध्ये ४१ महिला छन्। नेपालको पर्यटन विभागले १० अप्रेलसम्म अनुमति दिएकामा सबैभन्दा बढी युएसएका ५१ जना छन्। दोस्रोमा चीनका ३९ र तेस्रोमा भारतका २५ जना छन्। नेपालका ११ जनाले अनुमति पाएका छन्।
विभागका अनुसार यो वर्ष वसन्त ऋतुमा नेपालका विभिन्न हिमाल आरोहरणका लागि ५५९ जनाले अनुमति पाएका छन्। जसमध्ये ४४६ पुरुष र ११३ महिला छन्। नेपालले हिमाल आरोहरणको अनुमतिवापत् झण्डै २९ लाख डलर आम्दानी गरेको विभागको प्रेस विज्ञप्तिमा उल्लेख छ। यो सिजनमा एभरेष्टसहित नेपालका २१ हिमाल आरोहणका लागि अनुमति मागिएको थियो। हिमाल आरोहरणका लागि सबैजसो आरोही नेपाल आइसकेको जनाइएको छ। उनीहरु आरोहरणको पूर्व अभ्यासमा छन्।








