मालदा: रतुआ २ ब्लकको महाराजपुर क्षेत्रमा ठूलो परिमाणमा एटीएम कार्ड बरामद भएको घटनाले सनसनी फैलिएको छ। सुनसान पोखरीको किनारबाट एटीएम कार्डले भरिएको झोला बरामद भएको स्थानीयले बताएका छन्। यो एटीएम कार्ड पोखरीको किनारमा कसरी पुग्यो भन्नेबारे स्थानीयले बैंकका अधिकारीसमक्ष कौतुहलता प्रकट गरेका छन्। बंगीय ग्रामीण विकास बैंकको एउटा शाखा मालदा रतुआ २ ब्लकको महाराजपुर क्षेत्रमा अवस्थित छ। यस बैंकको शाखा कार्यालय नजिकै महत्वपूर्ण कागजातले भरिएको झोला बरामद भएको भन्दै स्थानीयले बैंकका अधिकारीहरुलाई प्रश्न गरिरहेका छन्। स्थानीयका अनुसार, यी एटीएम कार्डको म्याद सकिएको छैन। त्यसैगरी उनीहरुले ग्राहकको नाममा बनेका एटीएम कार्डहरु कसरी यसरी फ्याँकिए भन्नेबारे प्रश्न उठाईरहेका छन्।यता, बंगीय ग्रामीण विकास बैंकका अधिकारीहरुले यी एटीएम कार्डबाट कुनै पनि ग्राहकलाई नोक्सानी नहुने बताएका छन्। एटीएम कार्ड बनाइएता पनि कुनै ग्राहकलाई जारी नगरिएको उनीहरुको तर्क छ। यद्यपी बैंकका अधिकारीहरुले बैंकको एटिएम बरामद भएको विषयमा अनुसन्धान भइरहेको बताएका छन्।










