गान्तोकः सिक्किमको विशेष सुरक्षा कवच मानिएको धारा ३७१एफ तरलिकरण भएको भन्ने आरोपहरूलाई मुख्यमन्त्री पीएस तामाङले खण्डन गरेका छन्। १९९३ मा आरसी पौड्यालको केसमा आएको सर्वोच्च न्यायालयको आदेश र रुल ४/४ हटाउने माग गर्दै सुर्नेन्द्र प्रसादद्वारा सर्वोच्च न्यायालयमा गरिएको मुद्दाको फैसलामा उल्लेखित विषयलाई जोड्दै मुख्यमन्त्री तामाङले धारा ३७१एफ पूर्ण सुरक्षित रहेको बताए। आज बसेको सिक्किम विधानसभाको विशेष सत्रमा ल्याइएको एउटा सरकारी प्रस्तावको बहसपछि जवाफ दिने क्रममा मुख्यमन्त्रीले ३७१ एफ तरलिकरण भएको बन्ने कुराहरूलाई निराधार बताए। संविधानको धारा १४ सिक्किममा विस्तार भएको आरोपलाई पनि मुख्यमन्त्रीले खण्डन गरेका छन् साथै धारा ३७१ एफ तरलिकृत भएको र धारा १४ विस्तार भएको प्रमाण भए सरकार समक्ष स्पष्ट रुपमा राख्नुपर्छ भन्ने पनि बताएका छन्।
देशको सर्वेच्च न्यायालयका पूर्व मुख्य न्यायाधिश टीएस ठाकूर र सोलिसिटर जेनरल तुसार मेहता समक्ष सिक्किम सरकारले एओएसएसले आयकर छुट पाउँदा सिक्किमको विशेष सुरक्षा कवच ३७१ एफ तरलिकृत हुन्छ हुँदैन अनि सिक्किमेको विस्तारित परिभाषा अन्य कुरामा लागू हुन्छ हुँदैन भन्ने विषयमा विस्तृत चर्चा गरिसकेको मुख्यमन्त्रीले बताए। पूर्व मुख्य न्यायाधिस र सोलिसिटर जेनरलको माध्यमबाट वित्त ऐन २०२३ ले ३७१ एफ लाई कम्जोर बनाउँदैन भन्ने लिखित जबाफ पाइसकेको जानकारी दिँदै सिक्किमका जनताले यस विषयमा भारत सरकार र कानून विशेषज्ञको कुरालाई विश्वास गर्नुपर्ने बताए। तथापि वित्त ऐन २०२३ ले समावेश गरेको चौथो र पाँचौ वर्गका मानिसहरू केवल आयकर छुट प्रायोजनका लागि मात्र भएपनि राज्यका मानिसहरूको मनमा पैदा भएको असुरक्षाको भावनालाई हटाउन सरकारले प्रतिवद्धताका साथ काम गर्दै सरकारी प्रस्ताव ल्याएको बताए।
विधानसभामा वहसका क्रममा विभिन्न सदस्यहरूले उठाएका विषमाथि जवाफ दिने क्रममा मुख्यमन्त्रीले पछिल्ला चार वर्षमा अफ्नो सरकारले धारा ३७१एफको सुरक्षाका लागि गरेका पहलहरूबारे जानकारी दिए। ८ दिसम्बर १९९५ मा सिक्किम सरकारले निकालेको एउटा अधिसूचनाको उल्लेख गर्दै त्यही अधिसूचनाका आधारमा नै वित्त ऐन २०२३ ले चौथो र पाँचौ वर्गका मानिसहरूलाई सिक्किमे परिभाषाभित्र समेटेको मुख्यमन्त्रीले सदनमा बताए। आफूले सदनमा राखेका सबै विषयलाई दस्तावेज आधारित हो भन्दै मुख्यमन्त्री तामाङले एसडीएफ विधायक पवन चामलिङले गरेको विरोधलाई सिक्किमे जनतामा लाज पचाउन गरेको नाटक मात्र रहेको ठहर गरे। मुख्यमन्त्रीले भने, सिक्किममा जसले राजनीति गर्न चाहेका छन् उनीहरूले मात्र ३७१ एफ तरलिकृत भएको आरोप लाउँदैछन, अन्यथा यसको कमा पनि चेन्ज भएको छैन्। सिक्किमका जनता ढुक्क हुनुपर्छ ३७१ एफ सुरक्षित छ र यसको सुरक्षामा हामी प्रतिबद्ध छौं।