दिनाजपुरः बालुरघाट लोकसभा क्षेत्रको तपन विधानसभा क्षेत्रमा जनजातिका चारजना महिलाहरूलाई घिस्रिँदै तृणमूल कार्यालयसम्म पुग्न बाध्य बनाइएको घटनालाई लिएर भाजपा सांसद तथा प्रदेश अध्यक्ष सुकान्त मजूमदारले राष्ट्रपति द्रौपदी मुर्मूको ध्यानाकर्षण गराएका छन्। यस सम्बन्धमा उनले राष्ट्रपतिलाई पत्राचार गरी उक्त घटनामा हस्तक्षेप गर्ने माग गरेका छन्। उनले जनजातीय अधिकार रक्षा आयोगसित पनि पत्राचार गरेका छन्। मजूमदारले पत्रमा लेखेका छन्, हालैमा मेरो बालूरघाट लोकसभा क्षेत्रको तपन विधानसभा समष्टिबाट जनजातीय समुदायका दुई सय महिलाहरू भारतीय जनता पार्टी (भाजपा)-मा सामेल भएका थिए। तर यो कुरा तृणमूल कङ्ग्रेसको लागि अपच्य भयो। स्थानीय तृणमूल नेताहरूले ती जनजातीय महिलाहरूलाई डर देखाएर, धम्की दिएर पुनः तृणमूल कङ्ग्रेसमै फर्काए। यहाँसम्म कि महिलाहरूलाई घिस्रिँदै तृणमूल कङ्ग्रेसको कार्यालयमा जान बाध्य बनाइयो। यो अमानवीय तथा बर्बर कृत्य हो। यस मामिलामा तपाईले तत्काल हस्तक्षेप गरेर यो सुनिश्चित गरिदिने अनुरोध गरिरहेको छु कि यस प्रकारको बर्बरता बन्द होस्।
पत्रमा अझ लेखिएको छ, अतीतमा पनि तृणमूल कङ्ग्रेसका नेताहरूले जसरी जनजातीय समुदायका महिलाहरूविरूद्ध आपत्तिजनक तथा घृणापूर्ण बयान दिएका छन् जसबाट यो उजागार हुन्छ कि राज्यको सत्तारूढ़ पार्टीको जनजातीय समुदायप्रति कस्तो व्यवहार छ। उल्लेखनीय छ कि हालैमा एउटा भीडियो भाइरल भएको थियो जसमा जनजातीय समुदायका चार महिलाहरूलाई जमीनमा घिस्रिँदै तृणमूल कार्यालयसम्म पुगेको दृश्य देखाइएको थियो। सत्तारूढ़ तृणमूल कङ्ग्रेसले यसलाई अस्वीकार गर्दै स्थानीय तृणमूल नेत्री प्रदिप्ता चक्रवर्तीलाई यसको निम्ति जिम्मेवार ठहराएको थियो। प्रदिप्ता चक्रवर्तीलाई जिल्ला महिला मोर्चाको अध्यक्षबाट हटाइएको छ। ड्यामेज कन्ट्रोलको लागि स्नेहलता हेंब्रमलाई तृणमूल महिला मोर्चाको अध्यक्ष बनाइएको छ जो जनजातीय समुदायकी हुन्।