पाकिम र मंगनमा पीठासीन अधिकारीहरूको निम्ति प्रशिक्षण कार्यक्रम आयोजित

Untitled-1-copy-30

गान्तोकः आगामी २० अप्रेलको दिन सम्पन्न हुने पञ्चायत उपचुनाउलाई ध्यानमा राख्दै मंगन जिल्लाका पीठासीन अधिकारीहरू र चुनाउ अधिकारी-१ को निम्ति पहिलो चरणको प्रशिक्षण कार्यक्रम सम्पन्न भयो। राज्य चुनाउ आयोगको पहलमा पेन्टोकस्थित जिल्ला प्रशासनिक केन्द्रमा आयोजित पहिलो चरणको प्रशिक्षण कार्यक्रममा नोडल अधिकारी पाल्देन नर्बु लाचुङपाले पावर पोइन्ट प्रेजेन्टेसनको माध्यमद्वारा चुनाउको समयमा पीठासीन अधिकारीहरूको भूमिकाको बारेमा विस्तृतरूपमा जानकारी गराए। यस अवसरमा मक-पोलको महत्वमाथि पनि प्रकाश पारिएको थियो। विशेष गरेर मतदान प्रक्रियासँग सम्बन्धित सबै आवश्यक प्रक्रियाहरूमाथि प्रकाश पारिएको थियो।

सोही प्रकारले पाकिम जिल्लामा पनि जिल्ला प्रशासनिक केन्द्रमा पीठासीन अधिकारीहरूको निम्ति सैद्धान्तिक प्रशिक्षण कार्यक्रम आयोजना गरियो। विशेष गरेर पाकिम जिल्ला अन्तर्गत लिङके वार्डमा सम्पन्न हुने पञ्चायत उपचुनाउको निम्ति सैद्धान्तिक प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो। पाकिम जिल्लाका महकुमा अधिकारी छिरिङ नोर्गेल थिङको उपस्थितिमा सम्पन्न भएको यस कार्यक्रममा पञ्चायत उपचुनाउमा पीठासीन अधिकारीहरूको भूमिका र जिम्मेवारीबारे जानकारी गराइयो। यस अवसरमा ईभीएमको कार्य प्रणालीको बारेमा जानकारी दिनुका साथै मतदानको गोपनीयता लगायत अन्य महत्वपूर्ण विषयमाथि प्रकाश पारिएको थियो।

About Author

Advertisement