७ अप्रेलः अलराउण्डर क्रुणाल पाण्ड्याको असाधारण प्रदर्शनको सहायताले इण्डियन प्रीमियर लीग (आईपीएल) २०२३ मा लखनऊ सुपर जाइण्ट्सले आफ्नो दोस्रो जीत हासिल गऱ्यो। शुक्रवार आफ्नो होम ग्राउण्डमा लखनऊ सुपर जाइण्ट्सले सनराइजर्स हैदराबादलाई ५ विकेटले पराजित गऱ्यो। म्याचमा टस जितेर पहिला ब्याटिंग गर्दै सनराइजर्सले २० ओभरमा ८ विकेट गुमाएर १२१ रन मात्र बनाउन सक्यो। राहुल त्रिपाठीले सर्वाधिक ३४ रन बनाए। यसबाहेक ओपनर अनमोलप्रीत सिंहले ३१ र अब्दुल सामादले अविजित २१ रन बनाए। लखनऊका बलरहरूमा क्रुणाल पाण्ड्याले सर्वाधिक ३ विकेट लिए।

यसबाहेक अमित मिश्राले २ वटा सफलता हासिल गरे। जवाफमा लखनऊ सुपर जाइण्ट्सले २४ बल बाँकी रहँदै ५ विकेट गुमाएर १२७ रन बटुलेर म्याच जित्यो। कप्तान केएल राहुलले ३५ अनि क्रुणालले ३४ रन बनाए। सनराइजर्सका बलरहरूमा ईंग्ल्याण्डका स्पिनर आदिल राशिदले २ विकेट लिए। सनराइजर्सको यो लगातार दोस्रो हार हो। यस जीतपछि लखनऊ सुपर जाइण्ट्स ३ वटा म्याचमा ४ पोइण्टको साथ नेट रन रेटको आधारमा आईपीएल पोइण्ट्स टेबलको शीर्ष स्थानमा पुग्यो।