सिलगढी: अन्य राज्यबाट ल्याएका लाखौं रुपियाँको नक्कली प्रेसर कुकर,इन्डक्सन ओभन र ब्याट्री ओभनसहित ६ जना व्यक्ति पक्राउ परेका छन्। घटना सिलगढी महानगरीय पुलिस अन्तर्गत भक्तिनगर थाना क्षेत्रको हो। यी व्यक्तिहरू सिलगढी नगरपालिकाको वार्ड नम्बर ४० को एकतियाशाल क्षेत्रमा दुई महिनादेखि भाडामा घर लिएर बस्दै आएको आरोप छ। यी व्यक्तिहरूले मेरठबाट प्रख्यात कम्पनीको नक्कली समान ल्याएर विभिन्न ठाउँमा चिठ्ठामार्फत बेच्ने गरेको बुझिएको छ। स्रोतका अनुसार, यिनीहरूले बेला -बेलामा ठुलठूला ट्रकबाट सामान ल्याउँने गर्थे, जसलाई भाडाको घरमा राखिएको थियो। सिलगढी महानगरपालिकाको भक्तिनगर थानाले शुक्रबार छापा मारेर लाखौं रुपियाँको प्रेसर कुकर, इन्डक्शन ओभन र ब्याट्री ओभनलगायतका सामान बरामद गरेको छ। पुलिसले जम्मा ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेका सबैजना अन्य राज्यका वासिन्दा भएको जानकारी छ।