
झापाका योगराज लिवाङ (२९) दुबईको ओरेन्टल कफी शपमा ‘वरिष्टा कफी एण्ड फ्रुट डेकोरेटर’को काम गरिरहेका थिए। सन् २०२२ को अक्टोबरसम्म उनको काम राम्रै चल्यो। दैनिक १० घण्टा खट्थे। पहिले मलेशिया गएका बेला सिकेको सीप उपयोग गरेर दुबईमा उनले मासिक २८३० दिराम (रु.१ लाखभन्दा बढी) तलब बुझ्थे।
सन् २०१२ देखि वैदेशिक रोजगारमा जान शुरू गरेका योगराज मलेशिया, कतारहुँदै पछिल्लो पटक युनाइटेड अरब इमिरेट्स (यूएई) पुगेपछि आर्थिक हैसियत सुधार्न प्रयासरत थिए। भिजिट भिसामा दुबई पुगेकाले नयाँ काम र गन्तव्यको खोजी उनको प्राथमिकतामा थियो। यही प्राथमिकता पछ्याउँदा योगराज मानवतस्कर हुँदै खुँखार चिनियाँ ‘साइबर आपराधिक समूह’को चङ्गुलमा परे। त्यो पनि दुबईबाट निकै टाढा, म्यान्मारको अनकन्टार ठाउँमा। त्यहाँबाट अनेक यत्न गरी ज्यान बचाएर आइपुगेका योगराजलाई पछ्याउँदा हामीले मानव तस्करीको नयाँ र डरलाग्दो जालो भेट्यौं, जुन जालोमा लपेटिएर १०० भन्दा धेरै नेपाली म्यान्मारको अनकन्टार ठाउँमा फसेका छन्।
गत अक्टोबरको एक दिउँसो दुबईमा काम गरिरहेका बेला योगराजले फेसबुकको ‘नेपाली इन यूएई’ नामको ग्रुप–पेजमा एउटा विज्ञापन देखे। उनले ‘फलो’ गरेको त्यो पेजमा लेखिएको थियो– ‘राम्रो कम्प्युटर टाइपिङ स्किल भएको कस्टमर सर्भिसमा काम गर्ने कामदार चाहियो। तलबः १ हजार अमेरिकी डलर।’ बारम्बार अपडेट भइरहने फेसबुक पेजलाई दुबईमा बस्ने नेपाली नागरिक रुचनले पनि शेयर गरेर धेरै फलोअर्ससम्म पुर्याएका थिए। नेपालीले नै सेयर गरेको विज्ञापनको विश्वास मानेर उनले रुचनलाई मेसेज गरे। (हे., रुचन र योगराजबीचको मेसेज)
त्यो विज्ञापन र रुचनसँगको कुराकानीबाट थप कुरा बुझेपछि उनी म्यान्मारको रंगुनस्थित रोजगार कम्पनी ‘यकु जेम्स कम्पनी लिमिटेड’ले सीप परीक्षणका लागि भनेर लिने प्रयोगात्मक परीक्षा अर्थात् अनलाइन अन्तर्वार्तामा सहभागी भए। झापास्थित कन्काई कलेजमा प्लस टु पढ्दा कम्प्युटरबारे राम्रै ज्ञान लिएका योगराज रोजगारी पाइहाल्नेमा विश्वस्त त थिएनन् किनभने त्यसअघि रोजगारीका क्रममा भारत र कतार जाँदा उनी नराम्ररी ठगिएका थिए। शंका लागेर उनले पुख्र्यौली घर काभ्रे र काठमाडौंको सामाखुशी बस्दै आएको बताउने, तस्वीर हेर्दा आफ्नै उमेरका देखिने रुचनसँग अनलाइनबाटै सोधखोज गरे। योगराजका अनुसार आफ्नो पूरा नाम ‘रुचन श्रेष्ठ’ बताउने ती युवाले उनलाई त्यहीं बस्ने एकजना भारतीय नागरिकसँग सम्पर्क गराइदिए। रुचनले दुबईस्थित कार्यालयमा चिनियाँ नागरिक चाओ चेङको मातहतमा ती भारतीयसँगै आफूले काम गर्ने बताएका थिए। घटनाक्रमले चेङ नै युवाहरूलाई म्यान्मार लैजाने मुख्य एजेन्ट भएको देखाउँछन्।
योसँगै रुचन मार्फत सम्पर्कमा आएका दुबईमै रहेको बताउने अर्का व्यक्ति, चितवनका प्रेम गुरुङसँग पनि जोडिए, योगराज। रुचन र प्रेम दुवैले यसअघि पनि सूचनाप्रविधि अध्ययन गरेका युवाहरूलाई म्यान्मारसँगै कम्बोडिया, लाओस, भियतनामलगायत देशमा पठाइसकेको बताए। रुचन आफैं पनि दुबईमा बसेर क्रिप्टोकरेन्सीको काम गरिरहेको बताएपछि योगराजको मनभित्र उब्जिएको शंका केही हदसम्म हट्यो। भिडियो अन्तर्वार्ता लगत्तै रंगुनस्थित योकु जेम्स कम्पनी लिमिटेडले काम दिने भन्दै योगराजको लागि आवश्यक हवाई टिकट, बीमा र बस्ने होटलको पनि व्यवस्था भइसकेको जानकारी गरायो। र, अक्टोबर पहिलो साता रुचनमार्फत अनलाइन सम्पर्कमा रहेका ती भारतीय नागरिकले भिसाको लागि पासपोर्ट लिएर आउन उनलाई दुबईको ‘बिजनेश बे ट्रेन स्टेसन’मा बोलाए। त्यहाँ भेटेर उनको पासपोर्ट लिएर गए। योगराजको भनाइमा ‘पासपोर्ट लिएर कार्यालयमै आउँछु’ भन्दा ती भारतीयले मानेनन्। र, पछि भिसासहितको पासपोर्ट पनि त्यही रेल स्टेसनमै बोलाएर फिर्ता दिए। भिसाका लागि पासपोर्ट दिंदा र फिर्ता लिंदा ती भारतीयलाई एकैछिन भेटेबाहेक योगराजले म्यान्मारको रोजगारीको क्रममा सम्पर्कमा आएका रुचन र प्रेम गुरुङलाई अहिलेसम्म प्रत्यक्ष भेटेका छैनन्। (क्रमशः)
(यो लेख खोज पत्रकारिता केन्द्रको सहयोगमा तयार पारिएको हो।)