खरसाङ: खरसाङ महकुमा अन्तर्गत रहेको पंखाबारी उच्चतर माध्यमिक विद्यालयको नव निर्मित भवनको उदघाटन जीटीए प्रमुख कार्यपाल अनित थापा, दार्जीलिङ जिल्ला शासक एंव प्रमुख सचिव जीटीए एस पुनबालम, जीटीए कार्यकारी सभासद कल्पना प्रधानको बाहुलीबाट गरिएको छ।
त्यस नव उदघाटन समारोहमा कालेबुङका विधायक रूदेन सादा लेप्चा, जीटीए सभा चेयरम्यान अन्जुल चौहान, जीटीए शिक्षा विभाग कार्यकारी निर्देशक मनोबेन्द्र मोदक, मनोनित सभासद प्रणाम रसाइली, कालेबुङबाट कार्यकारी सभासद सिनोरा नेमचु, सभासदहरू नुरी शेर्पा, श्याम शेर्पा, परेस तिर्की लगायत विभिन्न विद्यालयका प्रधान अध्यापक, अध्यापिकाहरू, शिक्षक शिक्षिकागण,पंखाबारी उच्चतर माध्यमिक विद्यालयका भूतपूर्व शिक्षक शिक्षिकागण, अभिभावकवर्ग साथै स्थानीय भागोप्रमो प्रतिनिधिहरूको विशेष उपस्थिति रहेको थियो। सह-शिक्षक सुबोध लामाले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता जीटीए मनोनीत सभासद प्रणाम रसाइलीले गरेका थिए भने स्वागत सम्बोधन शिक्षा प्रभारी देवेन्द्र गजमेरले राखेका थिए। कार्यक्रममा गायिका बानिका प्रधान, महेश्वर लामाले गीत प्रस्तुत गरे भने हाँस्य कलाकार अनिल राई अम्बोले आफ्नो हाँस्य कला प्रस्तुत गरेका थिए। यसै अवसरमा विद्यालयको पक्षबाट जीटीए प्रमुख कार्यपाल अनित थापा, दार्जिलिंग जिल्ला शासक एस पुनबालम, जीटीए सभा चेयरम्यान अन्जुल चौहान आदिलाई अंग वस्त्र लगाएर सम्मान जनाइयो साथै स्मृति चिन्ह पनि प्रदान गरियो। त्यसरी नै पंखाबारी उच्चतर माध्यमिक विद्यालयका विभिन्न क्षेत्रमा अव्बल रहेका भूतपूर्व विद्यार्थीहरूलाई पनि विद्यालयको पक्षबाट सम्मान जनाइयो। कार्यक्रमलाई जीटीए मुख्य कार्यपाल अनित थापा, जिल्ला शासक एस पनबालम, विधायक रुदेन सादा लेप्चा, कल्पना प्रधान आदिले सम्बोधन गरेका थिए।