विद्यार्थीहरूलाई ट्य़ाबलेट वितरण गर्ने राज्य सरकारको योजना रहेको मन्त्री लेप्चाको भनाइ

IMG-20230402-WA0314.jpg

गान्तोक: गत ३१ मार्चदेखि शरु भएको चुम्बुङ बुदाङ निम्न उच्च माध्यमिक विद्यालयको ६ दिवसीय स्वर्ण जयन्तीको आज तेस्रो दिन भव्यताको साथमा सम्पन्न भयो। आज तेस्रो दिनको कार्यक्रममा मुख्य अतिथिको रुपमा राज्यका शिक्षा विभागी मन्त्री कुङ्गा निमा लेप्चा उपस्थित थिए। यसका साथै सोरेङ च्याखुङ क्षेत्रका विधायक आदित्य गोले अनि मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ विशिष्ठ अतिथिको रुपमा उपस्थित थिए। आज तेस्रो दिनको कार्यक्रममा क्षेत्रको विभिन्न निम्न उच्च माध्यमिक विद्यालयमाझ नृत्य प्रतियोगिता आयोजन गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेप्चाले चुम्बुङ बुदाङ विद्यालयले आफ्नो स्थापनाको ५० वर्ष पुरा गरेकोमा सम्पूर्ण विद्यालय परिवारलाई बधाई दिँदै यो विद्यालयलाई योगदान पुऱ्याउने सम्पूर्ण दिंवांगत आत्माहरूलाई पनि श्रद्धाञ्जली अर्पण गरे। मन्त्री लेप्चाले तीनवटा चुम्का भएको चुल्हाको उदाहरण दिँदै एक चुम्का विद्यार्थीहरू, अर्को चुम्का शिक्षक अनि अर्को चुम्का अभिभावक रहेको बताए। सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकारले शिक्षा अनि स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर कार्य गरेको बताउँदै हालसम्म सरकारले राज्यमा १०५ वटा स्कूलहरूको नयाँ पूर्वाधार निर्माण गरिरहेको जानकारी गराए। कोविड महामारीको समयमा सरकारले विद्यार्थीहरूको शिक्षामा कुनै पनि अवरोध नहोस् भनेर अनलाइन शिक्षा शुरु गरेको अनि विद्यार्थीहरूलाई स्मार्ट टेलिभिजन पनि वितरण गरिएको बताए। अब शीघ्र सरकारले विद्यार्थीहरूको सुविधाको निम्ति ट्याबलेट वितरण गर्ने पनि अवगत गराए। विद्यार्थीहरूलाई केवल किताबी शिक्षामा मात्र सिमित नराखेर वर्तमान सरकारले विद्यार्थीहरूलाई शैक्षिक भ्रमणको निम्ति पठाइरहेको पनि जानकारी गराए। यो भ्रमणले विद्यार्थीहरूलाई आफ्नो राज्यको विषयमा विस्तृत रुपमा जानकारी लिन पुग्ने गरेको उनले अवगत गराए। योग्य तर निम्नवर्गका विद्यार्थीहरूलाई सरकारले हर सम्भव सहयोग दिएर पढ़ाउने कार्य गरिररेहेको पनि मन्त्री लेप्चाले किटान गरे। सरकारले यति धेरै सुविधाहरू प्रदान गरिरहेको समयमा विद्यार्थी अनि अभिभावकहरूले पनि यसको भरपुर फाइदा उठाउनुपर्ने मन्त्री लेप्चाले आग्रह गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement