२ अप्रेलः पूर्व भारतीय क्रिकेटर ८८ वर्षीय सलीम अजीज दुर्रानीको आइतवार गुजरातको जामनगरमा निधन भयो। उनी क्यान्सरसँग जुझिरहेका थिए। अफगानिस्तानमा जन्मिएका दुर्रानीले धेरै सालसम्म भारतको तर्फबाट क्रिकेट खेलेका थिए। उनी अर्जुन पुरस्कारले सम्मानित हुने पहिलो भारतीय क्रिकेटर थिए। काबुलमा जन्मिएका दुर्रानीले भारतको निम्ति आफ्नो पहिलो टेस्ट म्याच १ जनवरी १९६०-मा अष्ट्रेलिया विरुद्ध ब्रेबोर्न स्टेडियममा खेलेका थिए। उनले भारतको निम्ति लगभग १३ सालसम्म क्रिकेट खेले। यस अवधि उनले २९ वटा टेस्ट म्याच खेलेर २५.०४-को औसतले ब्याटिंग गर्दै १२०२ रन बनाए। यसमा एउटा शतक अनि सातवटा अर्द्धशतक सामेल छ। उनी यस्ता ब्याटर थिए, जसले दर्शकहरूका मागमा छक्का लगाउन मन पराउँथे। अलराउण्डर दुर्रानी बलिंगमा पनि दक्ष थिए। उनले आफ्नो अन्तर्राष्ट्रिय करियरमा ७५ विकेट पनि लिए। उनी देब्रे हातका स्पिन बलर थिए। दुर्रानीमा भारतको निम्ति टेस्ट म्याच मात्र खेले। उनले आफ्नो अन्तिम टेस्ट म्याच ६ फरवरी १९७३-मा ईंग्ल्याण्ड विरुद्ध ब्रेबोर्न स्टेडियममै खेलेका थिए। उनलाई २०११-मा भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई) ले सीके नायुडु लाइफटाइम अचीवमेण्ट पुरस्कारले सम्मानित गरेको थियो। झलक्कै हेर्दा नायक जस्तो अनुहार भएका दुर्रानीले बलिवुडमा पनि काम गरेका थिए। उनले १९७३-मा चरित्र नाम भएको फिल्ममा परवीन बबीसँग काम गरेका थिए।