वाराणसी: भारतमा नेपाली भाषाका उन्नायक, साहित्यकार तथा शिक्षाविद् पारसमणि प्रधानको १२५औँ जन्मजयन्ती काशी हिन्दू विश्वविद्यालयको भारतीय भाषा विभागमा एक दिने संगोष्ठी गरेर मनाएका छन्। संगोष्ठीको उद्घाटन समारोहलाई नेपाली विभागाध्यक्ष प्रो. दिवाकर प्रधानले अध्यक्षता गरेका थिए। कार्यक्रममा आयुष प्रधानले वैदिक र यादव सापकोटाले लौकिक मङ्गलाचरण गरेपछि एमएका विद्यार्थीवर्गले कुलगीत गाए अनि प्रमुख अतिथि तथा आमन्त्रित अतिथिहरूले काहिविविका संस्थापक प. मदनमोहन मालवीयको मूर्तिमा दीप प्रज्वलन र माल्यार्पण गरे। विभागाध्यक्षले स्वागत भाषण राखेपछि प्रमुख अतिथि सिक्किम विश्वविद्यालयकी प्रो. पुष्प शर्माले बीजभाषण राखिन्। बीजभाषणमा प्रो. पुष्प शर्माले पारसमणि प्रधानसितको आफ्नो व्यक्तिगत अनुभवलाई साझा गरिन् अनि पारसमणिको निबन्धकारितामा आधार गरी उनको व्यापक व्यक्तित्व र कृतित्वलाई समाहार गरिन्। तेलुगू विभागका प्रो. विश्वनाथ र प्रो. वेङ्कटसरलूका बाहुलीबाट भाभाविको पक्षमा दुई अतिथि भद्रमहिलाहरूलाई स्मृतिचिह्न प्रदान गरे। आयोजना सचिव डा. जगदीशन टीले धन्यवाद ज्ञापन गरेपछि सभा समापन भयो।पहिलो प्राविधिक सत्रलाई शिलगढी महाविद्यालयकी सहप्राध्यापिका डा. राजकुमारी दाहालले अध्यक्षता गरेकी थिइन्। यस सत्रमा शोधार्थी आदीश्वरन् एसले पारसमणि प्रधान र शुभ्रमणियम भारतियाणको कविताहरू विषय तुल्नात्मक अध्ययन प्रस्तुत गरेका थिए भने शोधार्थी गणेशपण्डियन जेले पारसमणि प्रधान र नामचिवार मुडलियारको तुल्नात्मक अध्यनन प्रस्तुत गरे। शोधार्थी क्रिस्टिना दर्जीले नेपाली नाटकमा पारसमणि प्रधानको योगदान, छात्र आयुष प्रधानले व्याक्रणकारको रूपमा पारसमणिको भूमिकम, शोधार्थी कुशल तामाङले पारसमणि प्रधानको रचनामा राष्ट्रिय चेतना, छात्र हेमन्त गुरुङले नाटककार पारसमणि प्रधान, छात्र कुमार प्रधानले भाषाप्रेमी पारसमणि प्रधान, शोधार्थी इन्द्रमान सुब्बाले इतिहासका सन्दर्भमा पारसमणि प्रधानः स्रोत टिपन-टापन अनि शोधार्थी सृजना सुब्बाले कवितामालामा सङ्ग्रहित कविताहरूको विश्लेषण विषयक प्रपत्र प्रस्तुत गरे। सत्राध्यक्षा डा. राजकुमारी दाहालले सबै प्रपत्रको सार प्रस्तुत गर्दै सत्र फलदायक भएको मन्तव्य प्रकट गरिन्। इस्कोपस सिद्धान्तलाई अघि सार्दै डा. राजकुमारी दाहालले अनुवाद र तुलनात्मक अध्ययनको आवश्यकता बोध गराउँदै पारसमणि प्रधानलाई अनुवादको आवश्यकताका परिपूरक सिद्ध गरे।दोस्रो प्राविधिक सत्र मराठी विभागका अध्यक्ष प्रो. प्रमोद भगवान् पडवलको अध्यक्षतामा भयो। यस सत्रमा शोधार्थी आगाशले भरतीय नाटक विषय पारसमणि प्रधान र साङगरादास स्वामिगलको तुल्नात्मक अध्ययन, छात्रा सृष्टिका शर्माले पारसमणि प्रधानको सामाजिक र शैक्षिक कार्य, शोधार्थी यादव सापकोटाले पारसमणि प्रधानका कवितामा अध्यात्मवाद, छात्र नितेश राईले सम्पादक पारसमणि प्रधानको चन्द्रिका, शोधार्थी मौसम शर्माले नेपाली भाषाको विकासमा पारसमणि प्रधानको योगदान अनि डुकदेन लेप्चाले अध्ययन र अध्यापनमा पारसमणि प्रधानको योगदान विषयमा प्रपत्र प्रस्तुत गरे। सत्राध्यक्ष प्रो. प्रमोद भगवान् पडवलले यस सत्रका प्रपत्रहरूले पारसमणि मात्र नभई अरू भारतीय साहित्यका साहित्यकारहरूको पनि मूल्याङ्कन हुनसकेको विचार व्यक्त गरे।
दोस्रो सत्राध्यक्षकै अध्यक्षतामा भएको समापन सत्रअन्तर्गत डा. जगदीशनले दुई प्राविधिक सत्रको समाहार गर्दै प्रतिवेदन प्रस्तुत गरे। विभागाध्यक्षले आफ्नो अभिभाषणमा अरू भारतीय साहित्यकै समकक्षमा नेपाली भाषालाई पुऱ्याउन पारसमणिले आजीवन श्रम गरेको हुनाले उनी अविस्मरणीय व्यक्तित्व रहेको जनाए।
यसै सत्रको कार्यक्रममा काशी हिन्दू विश्वविद्यालयकी शोधार्थी लाक्पा डोमा भुटियाद्वारा लिखित ‘समालोचक कुमार प्रधान’ शीर्षक पुस्तकको विमोचन सिक्किम विश्वविद्यालयकी आचार्या प्रो. पुष्प शर्माको बाहुलीबाट भयो। पुस्तकबारे बोल्दै डा. कुमार प्रधानको समीक्षक व्यक्तित्वबारे प्रकाश पार्नाका साथै उनलाई पारसमणि प्रधानको व्यक्तित्व र कृतित्वका अध्येताका रूपमा पनि मूल्याङ्कन गरिन्। अन्त्यमा संगोष्ठीका सहभागी र प्रपत्र प्रस्तोताहरूलाई अतिथिद्वयका बाहुलीबाट प्रमाणपत्र वितरण गरिए। सत्राध्यक्षले भाभावि-को सक्रियतालाई प्रतिष्ठा गर्दै बहुभाषीय एकीकरणमा भाभाविले निर्वाह गरेको भूमिकालाई सराहना गरे। डा. विघ्नेश अनन्त एस-ले सम्पूर्ण उपस्थित अतिथि, प्रबन्धक डा. अमित थापा र सभासद्लाई धन्यवाद ज्ञापन गरेपछि सत्राध्यक्षले सभा शेष भएको घोषणा गरे।