नक्सलबारी: सिलगढी महकुमा परिषदका सभाधिपति अरुण घोषले दिदीको सुरक्षा कवच कार्यक्रम अन्तर्गत मानिसहरूसित भेटेर कुराकानी गरे। आज सभाधिपति अरुण घोष दिदीको दूत बनेर नक्सलबारीको मणिराम इलाकामा पुगे। त्यहाँ तिनले सबैभन्दा पहिला मीरजांगला इलाकाको परिभ्रमण गरे अनि गाउँलेहरूको समस्या तथा अभियोग पनि सुने। गाउँलेहरूले सभाधिपतिसित जय जोहार परियोजनाको लाभ नपाएको गुनासो पोखे। यसपछि सभाधिपति जाबरा क्षेत्रमा जीटीए विश्वकर्मा बोर्डको आवासमा पुगेर त्यहाँक मानिसहरूको गुनासो तथा विविध समस्याहरू बारे जानकारी लिए। गुनासो सुनेपछि सभाधिपतिले सम्बन्धित जीटीए सभासदसित फोनमार्फत कुराकानी पनि गरे यसपछि तिनी बेलगाछी हिन्दी हाई स्कूल पुगे। तिनले यस क्षेत्रका स्थानीय मानिसहरूसित कुराकानी गरेर तिनीहरूका विविध समस्या सुनेपछि सभाधिपतिले स्वास्थ्य केन्द्रको समस्या समाधान गरिदिने आश्वासन दिए। यसवाहेक, सभाधिपतिले मीरजांगलास्थित चर्चमा गएर प्रार्थना गरे अनि यसपछि सन्तोषी माता मन्दिरमा पुगेपछि त्यहाँ पनि पूजा अर्चना गरे। सभाधिपति अरुण घोषले बताए अनुसार मानिसहरूका विविध समस्या, असुविधाहरू सुनेपछि यसबारे अब पार्टीका शिर्ष नेतृत्वहरूलाई अवगत गराइने छ। यसको साथै ती समस्याहरूको शिघ्र समाधान गरिने छ।