राजगञ्ज: राजगञ्जको नाकुगछमा घर नजिकैको पोखरीबाट रहस्यमय ढङ्गमा युवतीको मृतदेह उद्धार भएको घटनामा पुलिसले एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका आरोपीलाई फाँसी दिने माग गर्दै गाउँलेहरूले आज पथ अवरोध गरेर विरोध प्रदर्शन गरे। राजगञ्ज पुलिसले शनिबार यवतीको हत्याको आरोपी मोमिनुल इस्लामलाई पक्राउ गरेको छ। स्मरण रहोस्, लगभग १० महिना अघि जलपाईगढी कोतवाली थानाको गरालबारी इलाकाको शोभागञ्ज निवासी मोमिनुल इस्लामको सन्न्यासीकाटा निवासी नसीमा खातुनसित मोहर भएको थियो। गत शुक्रवार घर नजिकैको पोखरीबाट रहस्यमय ढङ्गमा युवतीको शव उद्धार भएको थियो। घटनापछि मृतकको परिवारका सदस्यहरूले थानामा अभियोग दर्ता गरेपछि अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले मोमिनुललाई युवतीको हत्या गरेको आरोपमा पक्राउ गरेको छ। आरोपीलाई फाँसी दिने माग गर्दै आज स्थानीय मानिसहरूले जोटियाकाली गाडरा राजकीय सड़क जाम गरेर विरोध प्रदर्शन गरे। घटनाको खबर पाएर राजगञ्ज पुलिस घटनास्थलमा पुगेर आरोपीविरुद्ध आवश्यक कार्वाही गरिने आश्वासन दिएपछि पथ अवरोध हटाइयो। स्थानीय पञ्चायत सदस्य शौकत अलीले आरोपीविरुद्ध अनुकरणीय सजाको माग गरे। राजगञ्ज थाना पुलिसले बताएअनुसार आरोपीले युवतीको हत्या गरेको कुरा स्वीकारेका छन्। आरोपीलाई आज जलपाईगढी अदालतमा पेश गर्यो।









