ब्रदर्स युनाइटेड फूटबल एकाडमीमा खेलाड़ीहरूलाई प्रोत्साहन

IMG-20230326-WA0222.jpg

२६ मार्चः स्थानीय खेलाड़ीहरूलाई स्तरीय फूटबल प्रशिक्षण प्रदान गरी शीर्ष स्तरसम्म पुऱ्याउने लक्ष्यको साथ फूटबलर अनि प्रशिक्षक बिदुर छेत्रीको प्रयासमा शुरु गरिएको ब्रदर्स युनाइटेड फूटबल एकाडमीमा आइतवार खेल सामग्रीहरू प्रदान गरियो। आयु वर्गको फूटबलमा मोहन बगानसहित भारतका विभिन्न क्लबबाट खेलिसकेका बिदुरले आफ्ना शुभचिन्तकहरूका सहयोगमा ब्रदर्स युनाइटेड फूटबल एकाडमी शुरु गरेका छन्। एकाडमीमा आर्थिक रूपले बिपन्न परिवारका प्रतिभाशाली खेलाड़ीहरूलाई विभिन्न आयु वर्गमा निशुल्क प्रशिक्षण प्रदान गरिनेछ। हिमाली शहीद नगर नजिक स्थित खेल मैदानमा हरेक दिन दिउँसो प्रशिक्षण प्रदान गरिनेछ। आज भएको एकाडमीको कार्यक्रममा अतिथिको रूपमा वार्ड काउन्सिलर सुखदेव माहातो, युथ प्रेसिडेण्ट आबेद अली, आमुक्त परिवारका सचिव मकरधोज तामाङ, प्रकाश चन्द्र, अनिल प्रसाद, सुनिल प्रसाद, खरसाङबाट सनिप छेत्री, जन राई, हरि छेत्री, विक्रम राई, उमेश राई, सावन राई, शुभम तामाङ, राज सुब्बा अनि अनिमेश लामा उपस्थित थिए।

अहिले एकाडमीमा विभिन्न आयु वर्गका लगभग ४२ जना खेलाड़ी रहेका छन् अनि खेलाड़ीहरूका उत्साह बढ़ाउन केही दिन अघि महिला फूटबलर सुजु चामलिंग राई पनि आएकी थिइन्। एकाडमीका संस्थापक बिदुरको साथमा सीनियर फूटबलर शुभम लामाले पनि खेलाड़ीहरूलाई प्रशिक्षण प्रदान गरिरहेका छन्। बिदुर र शुभम दुवैसँग प्रशिक्षणको पनि अनुभव रहेको छ। एकाडमीका संस्थापक बिदुरले युवा खेलाड़ीहरूलाई अघि बढ़ाउने अभियानमा सबैबाट सहयोगको अपील गरेका छन्।

About Author

Advertisement