गान्तोकः कञ्चनजङ्गा राज्य विश्वविद्यालले आफ्नो पहिलो दीक्षान्त समारोह राजधानीस्थित चिन्तन भवनमा पालन गऱ्यो। कार्यक्रममा सिक्किम विधानसभाका अध्यक्ष अरूण उप्रेती मुख्य अतिथि तथा राज्यपाल लक्ष्मण प्रसाद आचार्य कुलपतिको रूपमा उपस्थित थिए। विश्वविद्यालयबाट नेपाली र संस्कृतमा स्नातकोत्तर गर्दै आएका ६८ जनालाई विद्यार्थीहरूलाई मुख्य अतिथिको बाहुलीबाट डिग्री प्रदान गरियो। सन् २०२० देखि २०२२ सम्ममा नेपालीमा मास्टर्स अफ आर्ट्स (एमए) र संस्कृतमा मास्टर्स अफ आर्ट्स (एमए) मा स्वर्ण पदक र रजत पदक विजेताहरूलाई सम्मान जनाइयो।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि अरूण उप्रेतीले दीक्षान्त समारोहलाई सिक्किम राज्यको लागि ऐतिहासिक भएको बताए। शिक्षाको महत्वमा जोड दिँदै उनले कुनै पनि क्षेत्रको आर्थिक विकासमा उच्च शिक्षाले ठूलो भूमिका निर्वाह गर्ने बताए। परीक्षा उत्तीर्ण विद्यार्थीहरूका परिवारहरूलाई पनि हार्दिक बधाई दिँदै उनले सरकारले निकट भविष्यमा सिक्किमका युवाहरूलाई सबै प्रकारको सुविधा प्रदान गर्ने आश्वासन दिए। राज्यपाल लक्ष्मण प्रसाद आचार्यले राज्यलाई दक्ष जनशक्ति उपलब्ध गराउने र विकासको मार्गमा टेवा पुऱ्याउने शिक्षित युवा पुस्ता अहिलेको आवश्यकता रहेको बताए। उनले युवाहरूलाई सम्मानजनक रोजगारी गर्न राज्य सरकारको तर्फबाट शुरू गरिएको विभिन्न योजनाहरूबारे प्रकाश गरे।
उनले संस्कृतलाई देशको प्राचीन भाषा र भारतको पहिचान बताए। उनले मातृ संस्कृतिलाई जीवित राख्न अत्यावश्यक रहेको बताउॅंदै क्षेत्रीय भाषामा युवाहरूले चासो राख्नु पर्ने कुरामा बल दिए। विद्यार्थीहरुलाई सम्बोधन गर्दै उनले राज्य र देशका लागि केही गर्न नयाँ संकल्पका साथ स्नातकोत्तरको नयाँ यात्रामा अघि बढ्न आह्वान गरे। विश्वविद्यालयका उपकूलपतिले डिग्री प्राप्त गर्ने सम्पूर्ण विद्यार्थीहरूलाई बधाई साथै शुभकामना दिए।