खरसाङ: गोर्खा सांस्कृतिक संस्थान खरसाङ र जीटीएको सहयोगमा खरसाङमा नेपाली नयाँ वर्ष तीन दिवसीय रूपमा पालन गरिने भएको छ। खरसाङमा आगामी १४,१५ र १६ अप्रेल २०२३ मा नेपाली नयाँ वर्ष 2080 तीन दिवसीय रूपमा आयोजना हुने जानकारी आज खरसाङमा पत्रकार सम्मेलन बोलाएर गराइएको छ। यस विषयमा खरसाङमा पत्रकार सम्मेलन बोलाएर खरसाङ क्षेत्रमा तीन दिवसीय रूपमा नयाँ वर्ष कार्यक्रम गरिने विषयमा आयोजक समितिले जानकारी गराएका छन्। यस कार्यक्रम अन्तर्गत पहिलो दिन १४ अप्रेलको दिन खरसाङ क्षेत्रका विभिन्न संघ संस्थाहरूलाई लिएर सांस्कृतिक शोभायात्रा आयोजना गरिने र उक्त शोभायात्रा खरसाङको टुरिस्ट लजदेखि शुरु भएर हिलकार्ट रोड हुँदै मोटर स्ट्याण्डमा भएर मन्टिभियट पुगेर कार्यक्रममा परिणत हुने भएको छ। त्यसरी नै दोस्रो दिन सांस्कृतिक र सांगीतिक कार्यक्रम साथै विद्यार्थीहरूका लागि निबन्ध प्रतियोगिता, कविता लगयात गोर्खा सुन्दरी प्रतियोगिता र गोर्खा श्री पनि आयोजना गरिने भएको छ। यसको लागि केही दिनमा वेबसाइट लञ्च गरिने र उक्त वेबसाइटमा नै गोर्खा सुन्दरी र गोर्खा श्रीको लागि अनलाइन आवेदन गर्न सकिने जानकारी गराइएको छ। यसको साथै विभिन्न कार्यक्रमहरू आयोजना गरिने विषयमा पत्रकारहरूसित कुराकानी गर्दै कार्यक्रम आयोजक समितिको अध्यक्ष पेमेन्द्र गुरुङ, सचिव प्रनिता लामा घिसिङ, संरक्षणद्वय तिलक शर्मा र आशा मुखिया लामा, संगीतको संयोजक महेश्वर लामा, साहित्यको संयोजक प्रकाश प्रधान, मीडिया प्रभारी हेमन्त दर्नालले विस्तृत रुपमा जानकारी गराएका छन्।