गान्तोकः राज्य गृह विभागकी सचिव टाशी छो छोले आज राज्यपाल लक्ष्मण प्रसाद आचार्यसॅंग राजभवन परिसरमा शिष्टाचार भेट गरिन्। यस भेट अवधि सचिवले राज्यपाललाई जी२० को ब्याच प्रदान गर्दै सिक्किममा आगामी १६ देखि १८ मार्चसम्म जी२० बैठकका कार्यक्रमहरू र भूमिकाहरूको बारेमा जानकारी प्रदान गरिन्। उल्लेखनीय छ, भारतले ०१ दिसम्बर, २०२२ देखि जी२० को अध्यक्षता गरिरहेको छ, जसको विषय ‘वसुधैव कुटुम्बकम’- एउटा पृथ्वी एक परिवार एक भविष्य रहेको छ। यसको आयोजना गर्ने राज्यहरूमा सिक्किम पनि एउटा राज्य हो। यस अन्तर्गत सिक्किमको राजधानीमा दुईवटा बैठक प्रस्तावित रहेका छन्। यस क्रममा १६ मार्चमा बी२० अन्तर्गत पर्यटन, आतिथ्य र फार्मास्युटिकल क्षेत्र र जैविक खेतीमा बहुपक्षीय व्यापार साझेदारीका अवसरहरूमाथि सम्मेलन हुनेछ। यसरी नै दोस्रो बैठक अन्तर्गत १८ मार्चमा स्टार्ट अप २० सिक्किम सभा सम्पन्न गरिने छ।
राज्यपालले यसलाई एउटा ऐतिहासिक अवसर बताउॅंदै भने, जी२० समिटलाई लिएर सिक्किम सरकार र सिक्किमवासी आफ्नो संस्कृति, परम्परा, कला, शिल्प, कौशल, भोजन र अन्य विशिष्ट प्रतिभाहरू विश्व मन्चमा प्रदर्शित गर्न अति उत्सुक र उत्साहित छन्। उनले ‘वसुधैव कुटुंबकम’ को मंत्रको माध्यमद्वारा विश्व बंधुत्वको भावनालाई प्रगाढ बनाउॅंदै सिक्किमवासीहरू जी२० का प्रतिनिधिहरूलाई सिक्किममा स्वागत जनाउॅंछ भनी बताएका छन्।











