गान्तोकः सिक्किम विधानसभाको एकदिवसीय सत्रमा आज वित्तीय वर्ष २०२२-२३ को निम्ति ९६५४९.४२ लाख रूपियाँको तेस्रो अनुपूरक अनुदान माग पारित गरिएको छ। मुख्यमन्त्री तथा वित्त विभागका प्रभारी मन्ती प्रेमसिंह तामाङले उक्त माग सदनमा पेश गरेका थिए। यसैगरी, सदनमा आज मुख्यमन्ती तथा गृह विभागका प्रभारी मन्ली प्रेमसिंह तामाङले सिक्किम अग्नि एवं आपातकालिन सेवा विधेयक तथा विधि एवं संसदीय मामिला विभागका प्रभारी मन्त्री केएन लेप्चाले सिक्किम ‘लोकायुक्त (संशोधन) विधेयक पेश गरे। उक्त दुईवटा विधेयकमाथि आउँदो विधानसभा सत्रमा चर्चा एवं मतदान गरिने छ।
सदनमा सिक्किम वास्तु तथा सेवा कर (संशोधन) विधेयक पारित गरियो। उक्त संशोधन विधेयक मुख्यमन्ती तथा वित विभागका प्रभारी मन्त्री प्रेमसिंह तामाङले गत वर्ष १६ सेप्टेम्बरमा आयोजित सत्र अवधि सदनमा पेश गरेका थिए। सदनमा आज वित्तीय वर्ष २०२३-२४ को निम्ति विभिन्न विधानसभा समितिहरू पनि गठन गरियो। यसै क्रममा विधानसभा अध्यक्ष अरुण उप्रेतीले विधायक आदित्य गोले, विधायक जीटी ढुङ्गेल र विधायक सोनाम छिरिङ भेन्चुङ्गपालाई वित्तीय वर्ष २०२३-२४ को निम्ति अध्यक्षहरूको प्यानल मनोनीत गरे। एकदिवसीय सत्रको शुरूमा सिक्किम विधानसभाका पूर्व सदस्य स्व. डीपी भोटियाको निधनमा शोक प्रकट गर्दै दुई मिनट मौन धारण गरियो। शोक प्रस्तावमा सहभागी बन्दै मुख्यमन्ती प्रेमसिंह तामाङ, विधानसभा उपाध्यक्ष साङ्गै लेप्चा र विधायक एनके सुब्बाले दिवंगत भोटियाप्रति श्रद्धाञ्जली अर्पित गर्दै उनका जीवनीमाथि प्रकाश पारेका थिए।









