मलाई काममा गुणात्मकता चाहिन्छ: अनित थापा
खरसाङ: खरसाङ महकुमा अन्तर्गत टुंग सन्त मेरिज समष्टिको लागि जीटीएबाट एक सय बाइस करोड़ बराबरको लागतमा पिउने पानीको परियोजनाको शिलान्यास गरिएको छ। उक्त शिलान्यास कार्यक्रमको अध्यक्षता मार्गरेट्सहोप माध्यमिक विद्यालयको प्रधान अध्यापक मनिष तामाङले गरेका थिए भने प्रमुख अतिथिको रुपमा जीटीएको मुख्य कार्यपाल अनित थापा उपस्थित रहेका थिए। उक्त पेय जल परियोजनाको शिलान्यास कार्यक्रम टुंग सन्त मेरिज समष्टिको बेलटारमा जीटीए चिफ् अनित थापाको बाहुलीबाट सम्पन्न गरिएको छ। हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सचिव भक्तिमान तामाङले सञ्चालन गरेको उक्त शिलान्यास कार्यक्रममा स्वागत सम्भाषण टुंग सन्त मेरिज समष्टिको सभासद नुरी शेर्पाले राखेका थिए। टुंग सन्त मेरिज समष्टिको लागि शिलान्यास गरिएको पानीको योजना विषयमा पीएचई विभागको कार्यकारी अभियन्ता मणिरत्न मंग्रातीले सम्भाषण राखेका थिए। उक्त शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अनित थापाले भने, मलाई गुणात्मक काम चाहिन्छ भनी बताएका छन्। पेय जल परियोजनाले हरेक परिवारको घर घरमा पिउने पानी जडान गर्नेछ। आज शिलान्यास गरिएको परियोजना सिंगेल चिया बगानमा ११.७४ करोड, सिपाहीधुरा चिया बगानमा ५.२५ करोड, इदेन भेल चिया बगानमा १.५० करोड, महारानी चिया बगानमा ४.६६ करोड, सन्त मेरिज अनि गोथल्स क्षेत्रमा ३.३९ करोड, चम्पासरी फरेस्ट, खरिया फरेस्ट, चैत पानी चिया बगान, सिपाही धुरा चिया बगान अनि बामन् धुरा फरेस्ट मा १४.७० करोड, चटकपुर फरेस्ट अनि दयाल थोङ चिया बगानमा १२.०८ करोड, नहोरी चिया बगानमा ६.६९ करोड, रिङटोङ चिया बगान, गुणावारमा ३२.७३ करोड अनि २९.३६ करोडको पानी संग्रह गर्ने ट्यांकीको निर्माण रहनेछ। शिलान्यास कार्यपछि कार्यक्रम सांस्कृतिक एवं सांगीतिक कार्यक्रममा परिणत भएको थियो जसमा दार्जिलिङ कार्निभलको टोलीले सांगीतिक कार्यक्रम प्रस्तुत गरेका थिए। उक्त शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै जीटीए चिफ् अनित थापाले भने, ‘चुनाव जितेपछि यो मेरो पहिलो भेटघाट हो। खाली हात आउनु ठीक लागेन। त्यसैले हामीले यो समष्टिमा पानीको करोड़ौं रुपियाँको परियोजना लिएर आएका छौं। यो परियोजनाले घर घरमा पानी पुर्याउने छ। सरकारले दिएको रकमको राम्रोसंग प्रयोग हुनुपर्छ। जसले पनि काम गर्छ याद राख्नुहोस् मलाई काम चाहिँ गुणात्मक चाहिन्छ अनि घर घरमा पानी पुगेको हुनुपर्छ। काम पनि चाहिने, पैसा पनि चाहिने जस्तो पुरानो संस्कारलाई हामीले अब छोडनुपर्छ। काम गरेको समय कसैले समस्या सृजना गर्छ भने काम त्यही समय रोकिनेछ। यदि सरदारले राम्रो काम गरेन भने विभागलाई गएर गुनासो राख्नुहोस्। तपाईं-हामीले तिरेको ट्याक्सको पैसा हामीलाई यसरी सरकारले फर्काई दिँदैछन्।”

अनित थापाले क्षेत्रका युवाहरूलाई सम्बोधन गर्दै भने,
यस क्षेत्रको युवा पनि आर्थिक रुपले समृद्ध हुनुपर्छ। यो क्षेत्र पनि पर्यटकहरूको निम्ति केन्द्र बनेको होस्। तपाईहरुको सोचलाई अनित थापाको सदैव साथ रहनेछ।’
कार्यक्रमपछि पत्रकारहरूसित कुराकानी गर्दै टुंग सन्त मेरिज समष्टिको सभासद नुरी शेर्पाले विस्तृत रुपमा जानकारी गराएका छन्।