मूर्धन्य आख्यानकार विष्णु शर्मा अधिकारीको निधन

00-1-IMG-20230312-WA0204

बाग्राकोट: उपन्यास र कथा लेखनमा डुवर्सबाट एउटा विशिष्ट प्रतिनिधित्व दिन सक्षम मूर्धन्य साहित्यकार विष्णु शर्मा अधिकारीको आइतवार बिहान १० बजेर  ४५ मिनट जाँदा निधन भएको छ। उनी ७७ वर्षका थिए। उनले आफूपछि दुई छोरा, दुई छोरी, बुहारी, ज्वाइँ र नाता-नातिनीहरू छोड़िगएका छन्। उनी फोक्सोसँग सम्बन्धित श्वास-प्रश्वास रोगबाट ग्रसित थिए। सोमबार बिहान १० बजे बाग्राकोटस्थित निजी निवासबाट उनको अन्तिम शवयात्रा निकालिने परिवार पक्षले जानकारी दिएको छ। 

डुवर्सका प्रथम उपन्यासकारको निधनले यस क्षेत्रमा शोकको लहर छाएको छ।  ३ मार्च, १९४७ मा पश्चिम डुवर्सको आशाबारी चिया बगानमा आमा नर्मदा शर्मा र बाबु धर्मानन्द शर्माको कोखमा जन्म लिएका विष्णु शर्मा अधिकारी विद्यार्थी कालदेखि नै साहित्यमा रुचि राख्थे। बाग्राकोट उच्च माध्यमिक विद्यालयमा सातौं श्रेणीमा अध्ययनरत रहँदा नै उनको पहिलो रचना ‘साहित्य कुन हो?’ (निबन्ध) वाराणसीबाट प्रकाशित हुने ‘उदय’-मा १९६० मा प्रकाशित भएको थियो। त्यही वर्ष उनको कविता ‘जन्मभूमि’ पनि ‘उदय’-मा प्रकाशित भयो। एक आख्यानकारका रूपमा उनको अहिले जुन परिचय छ, त्यसको आधार साठीको दशकमा किशोरकालबाटै बलियो बन्दै गएको पाइन्छ। सत्तरको दशकको शुरुआती वर्षहरूमा आइपुग्दा नपुग्दा उनले करिब डेढ़ दर्जन कथा लेखिसकेका थिए। उनको पहिलो कथा ‘किशोरको टमी’ ‘दियालो’ पत्रिकामा १९६७ मा प्रकाशित भएको थियो। डुवर्समा उपन्यास विधा ‘आइसल्याण्डको सर्प’ अवस्थामा रहेको बेला पहिलोपटक उनैले १९७३ मा ‘प्रकृति कन्या’ उपन्यास डुवर्सलाई दिए। त्यसको लगत्तै अर्को वर्ष ‘विजयमाला’ (१९७४) उपन्यास प्रकाशित भयो। उनका अन्य प्रकाशित कृतिहरूमा ‘सरल रचनावली’ (निबन्ध सङ्ग्रह, १९७१) ‘अमर ध्वनि तत्व’ (अनुवाद, १९७२), ‘असिनाले झारेका फूलहरू’ (कथा सङ्ग्रह, १९९६), उपन्यास ‘कर्मभूमि’ (२०१९) र कथासङ्ग्रह ‘मानस-पुत्र’ (२०२२) प्रमुख हुन्। एक वैयाकरणका रूपमा पनि उनको ख्याति छ। उनले केही पाठ्यपुस्तक र व्याकरण पनि लेखेका छन्, जसमा छन्-‘व्याकरणका नियमहरू’ (१९९२), ‘साहित्य-सौरभ’ (भाग १ देखि ८ सम्म, १९९५), ‘व्याकरण-सौरभ’ (भाग १ देखि ३ सम्म, १९९८)। १९७३ मा उनले डुवर्सबाट स्तरीय पत्रिका ‘इन्द्रधनु’-को सम्पादन गरे, जो तीन अङ्कसम्म प्रकाशित भएको थियो। उनका डेढ दर्जन कथाहरूको सँगालो ‘मानस- पुत्र’ गत वर्षको सेप्टेम्बर महिनामा  उनको निजी निवासमा विमोचित भएको थियो। अधिकारीका कथाहरूमा अमेरिकी कथाकार ओ हेनरीका कथाहरूको गहिरो प्रभाव भेटिन्छ। डुवर्सबाट गद्याख्यानलाई समृद्ध बनाउने एकजना प्रतिबद्ध आख्यानकारका रूपमा उनको स्थापना छ। डुवर्सबाट अहिलेसम्म प्रकाशित आठमध्ये तीन उपन्यास अधिकारी एक्लैले लेखेका छन्। 

उनलाई सन् २०२१ मा बाग्राकोटबाटै १० औँ बद्रीनारायण प्रधान स्मृति पुरस्कार अर्पण गरिएको थियो भने भर्खरै दिसम्बर महिनामा सिलगढ़ी देवकोटा सङ्घले उनलाई ‘देवकोटा साहित्य सम्मान’-द्वारा पुरस्कृत गरेको थियो। यसअघि पनि उनलाई धेरै पुरस्कार र सम्मानहरू प्राप्त भइसकेका थिए। उनको निधनमा डुवर्सको माउ संस्था डुवर्स नेपाली साहित्य विकास समिति गहिरो शोक प्रकट गरेको छ। समितिका मूल सचिव रविन खवासले उनको निधनले डुवर्सेली नेपाली साहित्यले एक अभिभावक र प्रतिबद्ध आख्यानकार गुमाएको मन्तव्य गरेका छन्। यसैगरी, बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठानका मूल सचिव रूपेश शर्माले पनि अधिकारीको निधनमा गहिरो शोक जताएका छन्। विष्णु शर्मा अधिकारीले डुवर्सको आख्यान साहित्यमा ऐतिहासिक अवदान दिएकाले उनी चिर स्मरणीय रहने शर्माले बताए। साहित्य परिक्रमा परिवारले पनि अधिकारीको निधनमा शोक प्रकट गरेको छ। डुवर्सका साहित्यिक संस्था, साहित्यकार, बुद्धिजीवी तथा सामाजिक माहौलमा शर्माको निधनले शोक छाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement