खरसाङ: कलकत्ताका २२ वटा संघ संस्थानका माऊ संस्था- भारत नेपाल जनमैत्री साँस्कृतिक मञ्चको छैटौं वार्षिक साधारण सभा कलकत्ताको सियालदहस्थित बेङ्गल मोशन पिक्चर ईम्प्लोइज युनियन भवनमा सम्पन्न भयो। मञ्चका सभापति राजु पाठकको सभापतित्वमा सम्पन्न सभामा पुरानो कमिटी विघटन गरी नयाँ कमिटीको चुनाव गरियो जसमा अध्यक्ष खिमराज बराल, उपाध्यक्ष बद्रीविक्रम थापा अनि रामायणप्रसाद धमाला, महासचिव गोपालप्रसाद भित्रीकोटी, सचिवद्वय बिकास कार्की र आशा उपाध्याय, कोषाध्यक्ष देवराज भट्टराई, साहित्य विभाग प्रमुख नारायणप्रसाद होमागाई, साँस्कृतिक विभाग प्रमुख सुखदेव प्रधान, आर्थिक एवम् भवन निर्माण विभाग केशव अधिकारी छेत्री, महिला विभाग प्रमुख मिरा शास्त्री, स्वास्थ्य विभाग प्रमुख रामबहादुर कार्की, सामाजिक विभाग प्रमुख, नीलहरि दाहाल, युवा तथा खेल विभाग प्रमुख मोहन कुमार सिंह, कानुनी विभाग प्रमुख सुशील ढकाल अनि प्रमुख सल्लाहकार राजु पाठक रहेका छन्। स्मरण रहोस् भारत नेपाल जनमैत्री साँस्कृतिक मञ्चको स्थापनाकाल सन् २०११ देखि नै यसले कलकत्तामा नेपाली भाषा र साहित्यको विकासमा विशिष्ट योगदान पुर्याउँदै आइरहेको छ। स्थानीय स्तर लगायत यसले आजसम्म चारवटा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन गरिसकेको छ। जसमा भारत नेपाल अनि बर्मा देशका वरिष्ठ साहित्यकारहरूले अंश ग्रहण गरिसकेका छन्। यसबाहेक कलकत्ताका अन्य भाषी साहित्यकार विद्वानहरूलाई पनि सहभागी बनाएर नेपाली साहित्यलाई व्यापकता दिने काम गरेको छ। मञ्चले आफ्नो मुखपत्र संगमको चारवटा अङ्कहरू प्रकाशित गरिसकेको छ। जसमा अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा प्रस्तुत कार्य पत्रहरू लगायत कथा, कविता, लेख, निबन्ध आदि समावेश गरिएको छ। जो सङ्ग्रहनीय छ। मञ्चले कोविदकालमा धेरै कामहरू गरेको छ भनी सचिव बिकास कार्कीले प्रेस विज्ञप्ति जारी गरी बताएका छन्।









