गान्तोकःसिक्किम राज्य महिला आयोगले आज राजधानीको चिन्तन भवनमा ‘खेलकुदमा महिलाहरू’ विषयमाथि एकदिवसीय सम्मेलन आयोजन गऱ्यो। यस अवसरमा सिक्किम राज्य खादी बोर्डकी चेयरपर्सन छुङछुट भोटिया मुख्य अतिथि थिइन्।सम्मेलनमा राष्ट्रिय बक्सिङ कोच सन्ध्या गुरूङ, पर्वतारोही मनिता प्रधान र राष्ट्रिय फुटबल रेफ्री फुर्की ल्हमु भोटिया मुख्य वक्ताका रूपमा उपस्थित थिए। यसैगरी, कार्यक्रममा सिक्किम राज्य महिला आयोगकी अध्यक्ष छुङकिपु लेप्चा, सिक्किम पुलिसका एसडीजीपी अक्षय सचदेव तथा अन्यहरूको विशेष उपस्थिति रहेको थियो।
मुख्य अतिथि भोटियाले विद्यार्थीहरूलाई स्वस्थ भोजन ग्रहण गर्न र अनुशासित बन्न दिनचर्या कायम राख्न सुझाउ दिइन्। उनले नानीहरूलाई खेलकुदमा सहायता गर्न आयोग पूर्ण रूपमा प्रतिबद्ध रहेको बताइन्। आयोगकी अध्यक्ष लेप्चाले यस सम्मेलनबाट विद्यार्थीहरू लाभान्वित बन्ने आशा व्यक्त गरिन्। एसडीजीपी सचदेवले पुलिस विभागमा खेलकुदको महत्वमाथि बोल्दै विद्यार्थीहरूलाई स्वस्थ जीवनशैली अपनाउन आह्वान गरे। कार्यक्रमलाई मुख्य वक्ताहरूका साथै अन्यहरूले पनि सम्बोधन गरेका थिए।