पीके दोङकृत पुस्तक ‘माउन्टेन सोल्स’ सालबारी लोकार्पण

00-1-IMG-20230306-WA0259

सालबारी: सालबारीमा हिजोआज साहित्यिक गतिविधिहरू निक्कै सक्रिय भइरहेका छन्। गत आइतबार यहाँको गोम्देन टी-बारको सविता गोम्देन साहित्य कक्षमा पीके दोङकृत अङ्ग्रेजी पुस्तक‘’माउन्टेन सोल्स’’लोकार्पित भयो। यो शालीन समारोहलाई मूर्धन्य साहित्यकार नरबहादुर दाहालले अध्यक्षता गरेका थिए अनि मुख्य अतिथिको रूपमा उपस्थित थिए विशिष्ट साहित्यकार एवं राजनैतिक चिन्तक डी.एस. बम्जन। यस अवसरमा आफ्नो कृतिबारे बोल्दै लेखक पीके दोङले भने, ‘यो कृति मेरा अनुभवहरूलाई मैले आक्षरहरूमा लेखेको हुँ। पर्यटन व्यवसायीको रूपमा चौदह वर्ष मैले विदेशमा बिताएँ। भारत सरकारको पर्यटन मन्त्रालयमा क्षेत्रीय निदेशकको रूपमा चारवर्ष म मलेसियामा थिएँ अनि दश वर्ष जर्मनीमा। सन् १९९८ मा सिक्किम फर्कें जहाँ मलाई प्रशासनिक निदेशकको पद दिइयो। सिक्किम पर्यटन विकाश निगममा मैले सीईओ पदमा रहेर कार्य गर्ने अनि सिक्किम विश्वविद्यालयको पर्यटन विभागमा चार वर्ष सेवा गर्ने अवसर पाएँ। मैले जापान अन्तर्राष्ट्रिय सहकारी एजेन्सी, एसियन विकाश बैंक लगायत उत्तरपूर्वीय भारतका विभिन्न राज्य सरकारमा पर्यापर्यटन सल्लाहकारको रूपमा काम गर्न पाएको थिएँ। मैले आफ्नो जीवन यात्रामा भेट्न पाएका मानिसहरू र सत्य घटनाहरूमा आधारित छन् यो पुस्तकभित्रका मेरा कथाहरू। यसलाई पठकहरूमा पुर्याउन सकेकोमा मलाई हर्ष लागेको छl’

यस अवसरमा वरिष्ठ साहित्यकार ज्ञानेन्द्र खतिवड़ाले कृतिकारको परिचय राखेका थिए। उनले कृतिकार दोङको जीवनी र उपलब्धिसित पर्यापर्यटनमा उनको भूमिका र योगदानहरूको चर्चा गरे। त्यसपछि कार्यक्रम अध्यक्ष, मुख्य अतिथि अनि विशिष्ट अतिथिहरूको बाहुलीबाट कृति लोकार्पण गरियो। पुस्तक सालबारीमा सार्वजनिक भएको घोषणा अध्यक्ष दाहालले गरे। कार्यक्रमका मुख्य अतिथि वरिष्ठ साहित्यकार डीएस बम्जनले लोकार्पित कृतिमाथि समीक्षा राखेका थिए। उनले कृतिलाई विविध पाटाबाट हेर्दै आफ्ना टिप्प्णी र दृष्टिकोणहरू प्रस्तुत गरेका थिए। कृतिकारका भतिज चिया उद्योगबाट अवकाशप्राप्त प्रसिद्ध अधिकारी अरूण कुमार गोम्देनले आफूले चिनेको भरमा कृतिकारको व्यक्तित्वमाथि प्रकाश पारे। यस अवसरमा बोल्दै कार्यक्रमका अध्यक्ष विशिष्ट साहित्यकार नरबहादुर दाहालले आफ्ना कुराहरू राखे। उनले रोचक संस्मरण बताउँदै आफ्नो भाषा र साहित्यप्रेमका कुराहरू उल्लेख गरे। उनले भने, ‘जबसम्म जीवनमा आफूले बटुलेका अनुभवहरूलाई कृतिको रूपमा प्रकाशित गर्दैनौं त्यो आफूभित्रमात्र सीमित रहन्छ। जब लेखेर पाठकहरूमा पुर्याइन्छ त्यो सबैले पढ़्छन् अनि पाठकहरू पनि लाभान्वित हुन्छन्l’ उनले भने, ‘आज हामीले एउटा अङ्ग्रेजी कृति लोकार्पण गर्यौं। हाम्रा कृतिहरू यसरी अन्य भाषामा पनि लेख्यौं भने अरू भाषाका पाठकहरूले हाम्रा कुराहरू पढ़न पाउँछन् अनि हामीलाई अझ नजीकबाट बुझ्न सक्षम बन्छन्। आज ८५ वर्षीय कृतिकारको कृति म ८६ वर्षीय व्यक्तिको हातबाट लोकार्पण गर्न पाउनु मेरो ठूलो सौभाग्य ठान्छु। म कृतिकारमा धेरै धेरै बधाई र शुभकामना टक्राउन चाहन्छुl’

सम्पूर्ण कार्यक्रमलाई पत्रकार शैलेन्द्र समदर्शीले सञ्चालन गरेका थिए। समारोहमा वरिष्ठ साहित्यकारहरू कवि मोहन ठकुरी, कथाकार-अनुवादक जीतबहादुर सुनार, रम्भास कवि लीलबहादुर सुनार, कवि महेश कुमार सुब्बा (अ.प्रा. कप्तान), कवि हेमन्त काफ्ले, कवि निर्मल सिन्चुरी (अ.प्रा. डीसपी), राष्ट्रपति पदकले सम्मानित अ.प्रा. पुलिस अधिकारी पूर्ण मगर, साहित्यकार प्रकाशमणि प्रधान, कवि एवं पत्रकार प्रवीण खालिङ, गोम्देन टी बारका स्वामी अनन्त गोम्देन, कृतिकारका परिवारजन र आफन्तहरू आदिको विशेष उपस्थिति रहेको थियो। 

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *